लिमीमा सेनाको सेक्सन अप्रेटिङ बेस स्थापना

वैशाख २८ हुुम्ला । नाम्खा गाउँपालिका–६ को हिमालपारीको गाउँ लिमीमा शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली सेनाको सेक्सन अप्रेटिङ बेस स्थापना गरिएको छ । निर्वाचनका लागि सुरक्षा संवेदनशीलतालाई ध्यान दिँदै सेनाले बेस स्थापना गरेको हो ।

बराह दल गुल्म रानी बनका गुल्मपति गणेश खड्काले निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधली रहित तरिकाले सम्पन्न गर्न बुधबारबाट लिमीको हल्जी गाउँमा सेक्सन अप्रेटिङ बेस स्थापना गरेको जानकारी दिए ।

बेसमा बम डिस्पोजल गर्न विज्ञसहितको सेक्सन तहको फौज तैनाथ गरिएको छ । यसैगरी, निर्वाचनका बेला हुन सक्ने अवान्छित क्रियाकलापलाई रोक्न सेनाको बेस स्थापना गरेको उनले जानकारी दिए । नेपाली सेनाको बेल हेलिकोप्टरबाट सेना लिमी आइपुगेका हुन् ।

निर्वाचन अवधीभर सेनाको बेस लिमीमै हुने छ भने मतदान पश्चात सो बेस मतगणनास्थल गाउँपालिका केन्द्र याल्वाङ आउनेछ । (गोरखापत्र)

Translate »