निर्वाचनको अन्तिम तयारी: चुनाव गराउन गाउँ हिँडे कर्मचारी

स्काई न्यूज /बैशाख २८, सुर्खेत । स्थानीय तहको निर्वाचन गराउन मतदान केन्द्रमा खटिने कर्मचारी चुनावी सामाग्री लिएर गाउँ हिँडेका छन् । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर स्थित प्रदेश निर्वाचन कार्यालयबाट मतपत्र, मतपेटिएका लगायत चुनावमा प्रयोग हुने सबैखाले सामाग्री बोकेर उनीहरु खटाइएको मतदान केन्द्रतिर लागेका हुन् ।

‘सबै कर्मचारी मंगलबार दिउँसोसम्म सम्बन्धित मतदान केन्द्र पुगिसक्ने छन्,’ प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले भने । उनका अनुसार गाउँ पुग्नासाथ शून्य समय सुरु हुनु अगावै मतदान अधिकृतले केन्द्र तोकेको र चुनावी प्रचार रोकिएको सूचना जारी गर्दै सर्वदलीय बैठक गर्ने छन् ।

केन्द्रको ३ सय मिटर आसपासमा टाँसिएका चुनावी प्रचार सामाग्री हटाइने छ भने उम्मेदवारले आफ्ना प्रतिनिधि तोकेर नाम अधिकृतलाई बुझाउने छन् । सम्बन्धित केन्द्रबाटै बुधबार र बिहीबार कर्मचारीले थप मतदाता परिचयपत्र वितरण गर्ने चालिसेले जानकारी दिए । ‘यी दुई दिन केन्द्रमै मतदाता शिक्षा कार्यक्रम चलाइने छ,’ उनले भने । बिहीबार साँझ केन्द्रमा घेराबार लगायत व्यवस्थापनका काम हुनेछन् । सियो, धागो, सलाई, ल्हा, स्वस्तिक छाप, कपडाका थैला, घेराबार, विभिन्न प्लेकार्ड, डोरी, कलम, नेपाली कागज, फोटोकपी पपेर, विभिन्न अनुसूची लगायत ७० प्रकारका चुनावी सामाग्री कर्मचारीले बुझेका छन् ।

निर्वाचन कार्यालयका अनुसार सुर्खेतका नौ स्थानीय तहका १ सय ३८ स्थानमा २ सय ९१ मतदान केन्द्र तोकिएको छ । मतदानका लागि १ हजार ४ सय ४५ कर्मचारी खटाइएको छ । प्रतिकेन्द्रमा एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, दुई सहायक कर्मचारी र एक कार्यालय सहयोगी गरेर पाँच कर्मचारी खटाइएका छन् । मतदान अधिकृतले केन्द्रमा एक महिलासहित स्थानीय तीन स्वयम्सेवक नियूक्त गर्ने छन् । सबै केन्द्रमा ८ सय ७३ स्वयम्सेवक खटिने छन् । जिल्लामा २ लाख ३८ हजार ४ सय ५७ मतदाता छन् । सबैभन्दा धेरै मतदाता वीरेन्द्रनगर र कम चिङगाड गाउँपालिकामा रहेका छन् ।


मतदान केन्द्रमा ५ सय ७२ वट मतपेटिका पु¥याइने छ । पाँच सय भन्दा बढी मतदाता भएका मतदान केन्द्रमा प्रति दुई वटा र पाँच सय भन्दा कम मतदाता भएका मतदान केन्द्रमा एउटा रहने व्यवस्था गरिएको छ । ‘आठ वटा निर्वाचन अधिकृतको कार्यालयमा चारवटाका दरले मटपेटिका मौज्दात रहने व्यवस्था गरिएको छ,’ निर्वाचन अधिकारी चालिसेले भने । उनले चुनावी तयारी अन्तिम चरणमा पुगेकोसमेत जानकारी दिए ।

अन्तिम तयारी
प्रदेश निर्वाचन कार्यालय सुर्खेतले नौ वटै स्थानीय तहमा निर्वाचनका लागि अन्तिम तयारी गरिरहेको छ । निर्वाचनका लागि मतदान अधिकृत, कर्मचारी, सुरक्षाकर्मी, तथा मतदान सामाग्री सोमबारदेखि जिल्लाका पालिकामा पठाउन शुरु गरिएको हो । आसन्न बैशाख ३० गते हुने निर्वाचनका लागि सबै मतदान केन्द्रमा कर्मचारी, सुरक्षाकर्मी तथा मतदान सामाग्री व्यवस्थापन गर्ने गरी तयारी भइरहेको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले बताए ।

जिल्लामा १ सय ३८ मतदान स्थल र २ सय ९१ मतदान केन्द्र निर्धारण गरिएको छ । सुर्खेतमा कुल २ लाख ३८ हजार ४ सय ५७ मतदाता रहेका छन् । मतगणना स्थलमा सिसी टिभी क्यामेराको पनि व्यवस्थापन गरिएको छ । भोट काउन्टिङ भिडियो म्यानेजमेन्ट सिस्टम जडान गर्ने निर्वाचन आयोगको निर्देशन अनुसार सुर्खेतमा समेत प्रबन्ध गरिएको उनले जानकारी दिए । पाँच वटा नगरपालिका र चार वटा गाउँपालिकाका सहित ९९ वडामा चुनावी प्रतिस्पर्धा हुँदै छ । जिल्लाका नौ वटा पालिकामा कूल ५ सय १३ उम्मेदवार निर्वाचित हुने छन् । (स्काई न्यूज दैनिकमा २०७९ बैशाख २७ गते प्रकासित समाचार)

Translate »