मोडेल कलेजमा ‘नबिल एसएसई कार्यक्रम’

सामाजिक उद्यमी प्रवद्र्धन कार्यक्रम

स्काई न्यूज बैशाख २६, सुर्खेत ।  पश्चिम नेपालकै उत्कृष्ट सुर्खेत मोडेल कलेजमा सामाजिक उद्यम प्रवद्र्धनका लागि नबिल एसएसई प्रमाणपत्र कार्यक्रम सञ्चालन गर्न लागिएको छ । नबिल बैंकसँगको सहकार्यमा तीन महिने एसएसई सर्टिफिकेट कोर्स पहिलो पटक कर्णाली प्रदेशको सुर्खेत मोडेल कलेजमा सञ्चालन गर्न लागिएको हो ।

नबिल बैंकले यो वर्षदेखि सञ्चालन गरेको गैरनाफामुलक कार्यक्रम अन्र्तगत नबिल स्कुल अफ सोशियल इन्टरपे्रनरशिप ‘नबिल एसएसई’ प्रमाणपत्र कार्यक्रमका लागि आवेदन माग गरेको छ । प्रमाणपत्र कार्यक्रमको पहिलो ब्याच अन्तर्गत यतिबेला आवेदन आव्हान गरिएको कलेजका प्रिन्सिपल गणेश आचार्यले बताए । उनले तीन महिने प्रमाणपत्र कार्यक्रमबाट मुख्तहः क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विषयवस्तुहरु जानकारी दिएर सहभागीलाई उद्यमशील बनाईने जनाए ।

‘छोटो अवधिको यो कार्यक्रमबाट सकारात्मक परिवर्तन ल्याउने, समाजिक प्रभाव सृजना गर्ने एवं कुनै परियोजना सोचलाई उद्यममा रुपान्तरण गर्ने बनाउनु मुख्य उद्देश्य हो,’ उनले भने, ‘जटिल सामाजिक समस्याहरुलाई सामूहिकरुपमा समाधान गर्ने तरिका सिकाउनु नबिल एसएसई प्रमाणपत्र कार्यक्रमको अर्को उद्देश्य हो ।’

उनले पाठ्यक्रमको अध्ययनपछि सहभागीलाई दिगो विकास लक्ष्य प्राप्तिका लागि योगदान गरी समुदायस्तरमा सकारात्मक प्रभाव पार्न सक्ने बनाईने जानकारी दिए । उनका अनुसार नबिल बैंकले देशका सात वटै प्रदेशका विभिन्न सात कलेजहरुसँग साझेदारीमा यो कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रमबाट एक वर्षमा ७ सय तालिम प्राप्त जनशक्ति तयार गर्ने बैंकको उद्देश्य रहेको छ ।

तीन महिनाको कार्यक्रम अवधिभर १४ दिन प्रशिक्षण दिईनेछ । प्रमाणपत्र प्राप्त गर्न प्रशिक्षार्थीको न्यूनतम ९०% हाजिरी अनिवार्य हुनुपर्नेछ । आफ्नो सोचले समाजमा सकारात्मक प्रभाव पार्न योगदान गर्ने, सामाजिक उद्यमी बन्न अथवा समुदायमा सामाजिक उद्यमशीलता प्रबद्र्धन गर्न चाहने १८ वर्ष उमेर पुरा भएका नेपाली नागरिकले तोकिएको मापदण्ड अनुसार यो कार्यक्रममा सहभागिताका लागि आवेदन दिन सक्नेछन् ।

आवेदकसँग आफुले समाधान गर्न चाहेको सामाजिक समस्याको स्पष्ट पहिचान गरेको हुनु पर्नेछ । आवेदन पेश गर्दा प्रतिबद्धता स्वरुप न्यूनतम् पाँच हजार रुपैयाँ शुल्क कलेजमा बुझाउनु पर्नेछ । आवेदकले पेश गरेको सामाजिक उद्यमको सोच तथा अवधारणाको मूल्यांकन गरी प्रमाणपत्र कार्यक्रमका लागि सहभागिको छनौट गरिनेछ ।

छनौटमा परेका सहभागिलाई मात्र सामाजिक उद्यमशीलता सम्बन्धि विषय वस्तुको प्रयोगात्मक र व्यवहारिक प्रशिक्षणमा दिइनेछ । प्रशिक्षण पश्चात उद्यमशील सोच र लगानी योग्य व्यवसायीक योजना भएको नागरिक तयार हुने बैंकले अपेक्षा राखेको छ । (स्काई न्यूज दैनिकमा २०६९ बैशाख २७ गते प्रकासित समाचार)

 

Translate »