निर्वाचन सुरक्षार्थ खटिएका सुरक्षाकर्मीको मृत्यु भएमा आश्रितले २० लाख पाउने

घाइते सुरक्षाकर्मीको निःशुल्क उपचार

स्काई न्यूज/ बैशाख २६, काठमाडौं । सरकारले निर्वाचनको सुरक्षार्थ खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा उनका आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ । गृहमन्त्री बालकृष्ण खाणको प्रस्तावमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा उनका आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो ।

निर्वाचन सुरक्षार्थ खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई बीस लाख आर्थिक सहायता पाउने छन् । बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च समेत सरकारले व्यहोर्ने निर्णय गरेको छ । हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासन भत्ता उपलब्ध गराउने निर्णय समेत भएको छ ।

Translate »