नमूना मतदान कार्यक्रम : सुर्खेतमा मतदाता शिक्षाको अभाव खड्कियो

स्काई न्यूज /बैशाख २४, सुर्खेत ।  मतदाता शिक्षाको अभावमा स्थानीय तहको निर्वाचनमा बदर मत बढ्न सक्ने देखिएको छ । हरेक निर्वाचनमा मतदाता शिक्षा अनिवार्य हुन्छ । बदर मत संख्या घटाउन मतदाता शिक्षाको आवश्यक पर्छ तर यस पटक मतदाता शिक्षाको कार्यक्रम नहुँदा बदर मत अझै बढन सक्ने अनुमान गरिएको हो । मतदाता शिक्षामा खर्च घटाएको निर्वाचन आयोगले यो पटक सञ्चार माध्यम र प्रविधिको प्रयोगलाई भने जोडदिएको छ । रेडियो, टेलिभिजन तथा अनलाइनमार्फत श्रव्य दृष्य सामाग्री प्रसारण र सामाजिक सञ्जाल आयोगले प्रयोग गरिरहेको छ ।

विगतमा निर्वाचनमा स्वास्थ्य स्वयंसेविका र बालविकासका सहजकर्ताहरुलाई मतदाता शिक्षामा परिचालन गरिन्थ्यो । उनीहरु नमुना मतपत्र बोकेर घर घरै पुगेर मतदातालाई मतदान गर्ने तरिका सिकाउँथे । तर पनि बदर मतको संख्यामा कमी आउन सकेको थिएन । स्थानीय तहको निर्वाचनमा मात्रै होइन, प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत बदर मतको प्रतिशत अझ बढी छ । यसपटक मतदाता शिक्षाको अभावसँगै राजनीतिक दलहरुबीचको गठबन्धनले समेत बदर मत बढन सक्ने अवस्था छ । मतदाता शिक्षाको अभावमा कसरी मतदान गर्ने भन्ने विषयमा मतदाताहरु अलमलमा परेका छन् ।

जिल्लामा मतदाता शिक्षा सञ्चालन नहुँदा धेरै मतदाता अन्यौलता कायमै छ । स्थानीय तहको चुनावमा मतदान गर्नका लागि ठूलो मतपत्र भएकाले पनि मतदातालाई अन्यौल हुन सक्ने जानकारहरुले बताएका छन् । ‘बदर मतको संख्या कम गराउन राजनीतिक दलहरुले पनि अग्रसर हुनुपर्ने देखिन्छ,’ राष्ट्रिय उपभोक्ता मञ्च सुर्खेतका प्रतिनिधि कुमारी भुसालले भनिन्, ‘मतदातालाई मतदाता शिक्षाका विषयमा जानकारी दिनु राजनीतिक दलहरुको पनि कर्तव्य हुन आउँछ ।’

उनीहरुका नेता कार्यकर्ताहरुले मतदान गर्ने तरीका बारेमा सिकाउन आवश्यक रहेको उनको भनाइ छ । यसैवीच प्रदेश निर्वाचन कार्यालय सुर्खेतले शुक्रबार वीरेन्द्रनगर स्थित श्रीकृष्ण साधारण संस्कृत माध्यमिक विद्यालयमा गरिएको नमुना मतदान कार्यक्रममा एक तिहाई मत बदर भएका छन् । कुल खसेको ३६ मत मध्ये २४ मत मात्र सदर भएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए । आसन्न बैशाख ३० गते हुने स्थानीय तहलाई लक्षित गरेर नमूना मतदान कार्यक्रम गरिएकोमा २४ मत मात्र अर्थात दुई तिहाई सदर भएका छन् ।

बदर भएका मत मध्ये २ मत पूर्णरुपमा बदर भएका छन् । १० मत आंशिक सदर भएको प्रदेश निर्वाचन अधिकारी चालिसेको भनाइ छ । उनले सुर्खेतको मतपत्र दुई काँलम रहेकाले वारीपारी दुबै तर्फ छाप लगाउँदा पूर्ण बदर भएको जानकारी दिए । ‘यस वर्ष मतदाता शिक्षाको कार्यक्रम टट्कारो आवश्यक देखिएपनि कुनै कार्यक्रम छैन्,’ उनले भने, ‘आजको नमूना मतदान कार्यक्रमले समेत मतदाता शिक्षा कार्यक्रम आवश्यक रहेको संकेत गरेको छ ।’

उनले बैशाख ३० गते हुने निर्वाचनमा समेत बदर मतको संख्या बढ्न सक्ने आशंका व्यक्त गरे । उनका अनुसार दुई काँलमको सुर्खेतको मतपत्र गठबन्धनका कारण थप वारीपारी छाप हान्दा झुक्किने सम्भावना देखिन्छ । यद्यपि ! मतदाता शिक्षा कार्यक्रम नरहेपनि बदरमत हुन सक्ने सम्भावनालाई कम गर्न सन्देश प्रवाह गर्ने उद्दे्रश्यले नमूना मतदान कार्यक्रम राखिएको प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिईन् ।

‘नमूना मतदान कार्यक्रममा स्थानीय ३६ जना मतदाताहरुले मतदान गरेका थिए,’ उनले भनिन्, ‘खास मतदानको दिनमा गरिने सबै प्रक्रिया पुरा गरेर नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको हो ।’ सुरक्षा व्यवस्था, कर्मचारी व्यवस्था, मतपत्र, मतपेटिका लगायतका सम्पूर्ण प्रक्रिया पुरा गरेर नमूना मतदान कार्यक्रम गरिएको थियो । मतपेटिकामा चुनाव चिन्हहरु भने सांकेतिक रुपमा राखिएको उनले बताईन् । उहाँका अनुसार मत बदर नहुने गरेर मतदान गर्न मतदाता शिक्षा कार्यक्रमको आवश्यकता रहेको छ । नमूना मतदान कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाललगायत सुरक्षा निकायका प्रमुखहरुको सहभागिता रहेको थियो ।

 

Translate »