महासंघ अध्यक्ष भन्छन् – ‘निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारले मान्न जरुरी छैन’

बैशाख २०, काठमाडौं । नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले निर्वाचन आयोगले जारी गरेको आचारसंहितालाई पत्रकारहरुले मान्न जरुरी नरहेको बताएका छन् ।

विश्व प्रेस स्वतन्त्रता दिवस २०२२ को अवसरमा नेपाल पत्रकार महासंघले आयोजना गरेको प्रेस स्वतन्त्रता तथा पत्रकार सुरक्षा वार्षिक प्रतिवेदन सार्वजनिकिकरण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पोखरेलले निर्वाचन आयोगले बनाएको आचारसंहितामा अभिव्यक्ति स्वतन्त्रतालाई संकुचित बनाइएको आरोप लगाए ।

राज्यले प्रविधिलाई मात्रै हेरेर कानूनहरु बनाउँदा पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतालाई वञ्चित गरेको उल्लेख गर्दै उनले आयोगको आचारसंहिता पत्रकारहरुले मान्न जरुरी नरहेको बताएका हुन् ।

उनले पत्रकारहरुको आफ्नै आचारसंहिता रहेको भन्दै त्यो त आयोगले हामीसँग गरेको अपेक्षा मात्रै भएको बताए ।

‘त्यो अपेक्षा हामीले कति पुरा गर्ने भन्नेकुरा हामीले हाम्रो आचारसंहिताको जगमा उभिएर त्यो आधारमा निक्र्यौल गर्ने हो र त्यो आधारमा हामीले आफुलाई प्रस्तुत गर्ने हो । प्रविधिको नाममा स्वतन्त्रता खोस्ने अभ्यासहरु संसारभर हुन थालेका छन् । र त्यही कुरालाई अब हामीले प्रेस स्वतन्त्रतासँग जोडेर, नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर त्यसलाई हेर्ने, विश्लेषण गर्ने, र त्यो ठाउँमा पत्रकारितालाई कहाँ, कसरी जिवित राख्न सकिन्छ, र राज्यलाई तिम्रो दायरा यहाँसम्म मात्रै हो भनेर त्यो रेखाको खोजी गर्नुपर्ने अवस्था पनि आजको दिनमा हामीले महशुस गरेका छौँ ।’ उनले भने ।

कार्यक्रममा बोल्दै राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले पत्रकारिता स्वतन्त्र हुनुपर्ने बताए । पत्रकारिता स्वतन्त्र भएमा मात्र प्रजातन्त्र दीगो हुने उनको तर्क थियो ।

उनले भने – ‘पत्रकारितामा हामी स्वतन्त्र हुनुपर्छ । जन समक्ष भएको कुरा राखिदिनुपर्छ । त्यसमा अलिकति ट्वीस्ट चाहीँ हुनुहुँदैन । समाचार जुन छ त्यो राखिदिनु पर्छ । बास्तविक कुरा थाहा पाउनेगरी आउनुपर्छ । सबै पत्रकारले यसमा सचेत हुनुपर्ने अवस्था छ । पत्रकारको सुरक्षाका लागि मानव अधिकार आयोग लागिरहेको छ । पत्रकारिता स्वतन्त्र भयो भने नै प्रजातन्त्र दिगो हुन्छ । यसको लागि निष्पक्ष र स्वतन्त्र भएर जानुपर्छ ।’

सूचना तथा प्रशारण विभागका महानिर्देशक गोगनबहादुर हमालले पत्रकारिता क्षेत्रमा गैरपत्रकारहरुको बाहुल्यता बढ्दै गएको विषयमा सोच्नुपर्ने बेला आएको बताए । राज्यले पत्रकारिताको खोल ओढेर गैरकानूनी काम गरिरहेकाहरुलाई नियन्त्रण गर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघकी सल्लाहकार निर्मला शर्माले पत्रकारहरु आफ्नो अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विषयमा सचेत हुन जरुरी रहेको बताइन् ।

नेपाल पत्रकार महासंघका पूर्वअध्यक्ष महेन्द्र विष्टले तिनै तहको सरकारले बनाउने कानूनहरुमा प्रेस स्वतन्त्रता संकुचन गर्ने विषय प्राथमिकतामा परिरहेको तर्फ ध्यानाकर्षण गराए । यस विषयमा सबै पक्ष सचेत हुनुपर्नेमा उनको जोड छ ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष धर्मेन्द्र झाले प्रेस स्वतन्त्रता केवल पत्रकारको विषय मात्रै नभई आम जनताको विषय भएको बताए । प्रेस स्वतन्त्रता नहुँदा जनता सुसुचित हुन नपाउने उनको भनाई छ । प्रेस स्वतन्त्रताको आन्दोलन आम जनताको आन्दोलन हो भन्नेकुराको सचेतना जगाउनुपर्ने उनले बताए ।

नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष तारानाथ दाहालले सरकारले पत्रकारलाई सुरक्षित वातावरणमा काम गर्ने वातावरण बनाइदिनुपर्ने बताए । स्वतन्त्र पत्रकारिताका लागि कानूनी, आर्थिक, सुरक्षाको वातावरण अनुकुल बनाउने दायित्वबाट राज्य पन्छिन नमिल्ने उनले बताए । उनले पत्रकारहरु अझैपनि विभिन्न धाकधम्की र आक्रमणको शिकार हुनुपरेको भन्दै त्यस्तो गतिविधि तुरुन्त रोकिनुपर्ने पनि बताए । आर्थिक अभियान

Translate »