स्थानीय तह निर्वाचन : गाउँ लक्षित अनुगमनमा मुख्य निर्वाचन अधिकृत

स्काई न्यूज/बैशाख १९, सुर्खेत । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा मुख्य निर्वाचन अधिकृतलगायतका सुरक्षा प्रमुखहरु ग्रामीण क्षेत्रको अनुगमनमा निस्किएका छन् । निर्वाचन आचारसंहिताको पालनका विषयमा राजनीतिक दललगायतका अन्य क्षेत्रबाट भएका प्रयास र त्यहाँको शान्ति सुरक्षा अवस्थाको बारेमा जानकारी लिन टोली पूर्वी तथा पश्चिम सुर्खेतका स्थानीय तहका केन्द्रमा पुगेको हो ।

मुख्यनिर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यसहितको टोलीमा प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल, प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसे, सुरक्षा निकायका प्रमुखलगायतको सहभागिता रहेको छ । ग्रामीण क्षेत्रको अनुगमनमा निस्किएका प्रमुख निर्वाचन अधिकृत आचार्यले निर्वाचन अधिकृतको कार्यालयको तयारी, मतदाता स्थल र शान्ति सुरक्षाको अवस्था, निर्वाचन आचारसंहिताको बारेमा जानकारी लिएको बताए ।

उनले निर्वाचन अधिकृतको कार्यालय निरीक्षण र त्यहाँ भईरहेका तयारी र गर्नु पर्ने कार्यभारको बिषयमा जानकारी लिँदै आवश्यक सुझावसमेत दिए । ‘आयोगको तालिका बमोजिम उम्मेदवारले चुनाव चिन्ह पाएसँगै आचारसंहिताको पनि उत्तिकै उल्घंघन हुने खतरा बढेकाले सचेत गराउन पनि आफूले उपस्थिति जनाएको हुँ,’ उनले भने, ‘कतिपय अवश्थामा भौगोलिक विकटता र त्यहाँको सूचना संम्प्रेषण गर्ने व्यवस्थाको बारेमा जानकारी नहुँदा काममा असहजता हुने देखिएकाले अनुगमनबाट वास्तविक तथ्य देखिएको हो ।’ उनले मतदान स्थल भन्दा पनि मतगणना केन्द्रमा केही स्थान असहज खालको देखिनुका साथै सुरक्षादृष्टिले समेत फेरबदल हुन सक्ने बताए ।

चुनावी तयारी तीव्र
निर्वाचन मिति नजिकिँदै गर्दा निर्वाचन कार्यालयले तयारीलाई तीव्र पारेको छ । आसन्न स्थानीय तह निर्वाचनका लागि जिल्लामा दुई लाख ३८ हजार ४५७ मतदाता कायम भएको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी मतदानस्थलको अवलोकन तथा वर्गीकरण गरिसकेको छ । यसपटक स्थानीय तहको निर्वाचनका लागि जिल्लामा १३८ मतदानस्थल र २९१ मतदान केन्द्र निर्धारण गरिएको प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

उनका अनुसार तीमध्ये ८५ मतदानस्थल संवेदनशील, २० अतिसंवेदनशील र ३३ वटा मतदानस्थललाई सामान्य रुपमा वर्गीकरण गरिएको छ । निर्वाचनलाई दृष्टिगत गरी प्रदेशस्तरीय तालिम तथा छलफल भइसकेको र अब जिल्लामा निर्वाचन कार्यालय स्थापना भएसँगै निर्वाचनमा परिचालन हुने कर्मचारी, मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएर खटनपटन भइरहेको बताइएको छ ।

उता सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले मतदानलाई निष्पक्ष भयरहित बनाउन जनप्रतिनिधि, राजनीति दल, सुरक्षा निकायसँग विभिन्न चरणमा बैठक तथा छलफल गरिरहेको जानकारी दिए । उनले जिल्ला चुनावमय भएको दृष्यले निर्वाचनप्रति आम सर्वसाधारणसँगै राजनीतिक दलको उत्साहजनक सहभागिताले रहने अपेक्षा गरेको बताए । जिल्लामा चार गाउँपालिकासहित पाँच वटा नगरपालिका रहेका छन् ।

आचार संहिता कार्यान्वयनमा आयोगको जोड
निर्वाचन आयोगले निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन गर्न सम्बन्धित सबैलाई आग्रह गरेको छ । आयोगले केही स्थानमा निर्वाचन आचार संहिता विपरीत कार्य भइरहेको जानकारी आएकोले राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि वा कुनै व्यक्तिले आचार संहिता विपरीत प्रचारात्मक सामग्री प्रयोग नगर्न आदेश दिएको हो ।

आयोगले आदेश पालना नगर्ने राजनीतिक दल, उम्मेदवार, व्यक्ति, संस्था, पदाधिकारी वा निकायलाई १ लाख रुपैयाँसम्म जरिवाना गर्ने र उम्मेदवारी रद्द समेत गर्न सिफारिस गरी पठाउन सबै जिल्ला प्रशासन कार्यालय, मुख्य निर्वाचन अधिकृतको कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरुलाई निर्देशन दिएको छ ।

Translate »