जुम्ली किसानका स्याउ–बगैँचा फूलेर ढकमक्क

खलङ्गा । कर्णाली प्रदेशकै सबैभन्दा बढी स्याउ उत्पादन हुने जिल्ला जुम्लाका बगैँचामा स्याउका फूल फूलेर सेताम्मे बनेका छन् । स्याउका फूल फूलेर यहाँको वातावरण निकै रमणीय देखिन्छ ।

जिल्लैभरि रहेका बगैँचामा जुम्ली किसानले लगाएका स्याउका बोट फुलेर सेताम्मे भएपछि यहाँको वातावरण रमाइलो देखिएकोमा स्थानीय शिव कार्की खुशी देखिएका छन् । उनले भने, ‘जुम्ला अर्गानिक स्वादिलो स्याउ पाइने जिल्लाका रूपमा चिनिन्छ । त्यो स्वादिलो स्याउ फल्ने बोटका बगैँचामा फूल फुलेर अहिले सेताम्य भएको छ ।’ उनका अनुसार चैतवैशाखमा स्याउ फुल्ने र असोजदेखि कात्तिक महीनामा पाक्ने गरेको छ ।

इटलीबाट फुजी स्याउका बिरुवा ल्याएर स्याउखेती गरेसँगै अहिले जिल्लाभरि उक्त जातको स्याउ फैलिएको छ । यहाँका आठओटै स्थानीय तहमा स्याउखेती हुँदै आएको प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना स्याउ सुपरजोन कार्यालय जुम्लाका प्रमुख गङ्गा पोखरेलले जानकारी दिए ।

अहिले जिल्लाभर तीन जातका स्याउ फल्ने गरेको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । यहाँ गोेल्डेन डेलिसेस, इटालिएन फुजी र गाला जातका स्याउ फल्ने गरेका छन् । अधिकांश स्थानमा स्थानीय अर्गानिक विकासे स्याउ पनि फल्ने गरेका छन् । जुम्लाको स्याउले सुर्खेत, नेपालगञ्ज, धनगढी, काठमाडौँ, पोखरालगायत देशका ठूला सहरमा पनि निकै आकर्षक बजार लिएको छ ।

पछिल्लो समय जिल्लाबाहिर स्याउको माग पनि बढ्दै गएको छ । जुम्ली स्याउको माग बजारमा अत्यधिक हुने गरेको स्थानीय व्यापारी बताउँछन् । यहाँका स्थानीय तहका गाउँघरसम्म सडक सञ्जाल जोडिएपछि स्याउ ढुवानीमा सहजता भएको स्याउ किसान पदम बुढाले बताए ।

पछिल्लो समय जुम्ली किसानको स्याउखेतीप्रति बढ्दै गएको आकर्षणका कारण पनि उत्पादन वृद्धि भइरहेको छ । जुम्लाका साढे १६ हजार घरपरिवार स्याउखेतीमा निर्भर छन् ।

जुम्लाको कुल ३९ हजार ४३५ हेक्टर खेतीयोग्य जमिन छ । त्यसको तीन हजार ७०० हेक्टर जमिनमा स्याउखेती हुने गरेको कृषि विकास कार्यालयको तथ्यांकले देखाएको छ । जुम्ली एग्रो फार्म र हाम्रो सहकारी प्रालिले १० वर्षका लागि चन्दननाथ मन्दिरको २० हजार वर्गमिटर क्षेत्रफलको जग्गा भाडामा लिएर फुजी स्याउखेती गरेको छ । जसमा तीन हजार ५०० फुजी जातको स्याउको बिरुवा लगाइएको छ ।

यहाँको स्थानीय जातको स्याउभन्दा फुजी स्याउले राम्रो प्रतिफल दिने भएकाले किसान यो स्याउखेतीमा आकर्षित भएको कृषि विकास कार्यालय जुम्लाले बताएको छ । रासस

Translate »