एमाले घोषणापत्र : भू-उपयोग नीतिलाई प्रभावकारी कार्यान्वयन गरिने

बैशाख ९, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले देशलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउन भू–उपयोग नीतिलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने लक्ष्य सहितको स्थानीय निर्वाचन घोषणापत्र जारी गरेको छ ।

एमालेले शुक्रबार जारी गरेको घोषणापत्रमा देशमा सिँचाई सुविधाको विस्तार, कृषि भूमिको सही उपयोग र आधुनिक प्रविधिको माध्यमबाट कृषिको आधुनिकीकरण गर्दै लाने उल्लेख गरिएको छ ।

मुलुकलाई आत्मनिर्भर र किसानलाई समृद्ध बनाउने जीवनको आधारका रुपमा रहेको कृषि क्षेत्रलाई उच्च महत्त्व दिएर लगानी अभिवृद्धि गर्ने र मुलुकलाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने तथा कृषियोग्य जमिनको जथाभाबी प्रयोगलाई नियन्त्रण गर्ने पनि एमालेको घोषणापत्रमा उल्लेख छ ।

‘व्यावसायिक खेती गर्न चाहनेहरूलाई भूमि ब्याङ्कमार्फत आवश्यक जमिन उपलब्ध गराउने, लिज, करार र सहकारीमार्फत खेती गर्न त्यस्ता जमिनका सन्दर्भमा आवश्यक कानुनी प्रबन्ध र राज्यको सुरक्षाको प्रत्याभूत गरिनेछ,’ एमालेले घोषणापत्रमा भनेको छ ।

माटोको स्वास्थ्य रक्षा गर्ने, उत्पादकत्व बढाउने र माटोको यथार्थ अवस्थाको वैज्ञानिक सूचना आधुनिक प्रविधिका माध्यमबाट किसानले पाउने व्यवस्था गर्ने, सबै कृषियोग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउने, वर्षाको पानी सङ्कलन, सतह सिँचाई, भूमिगत र लिफ्ट सिँचाइ आयोजनामा प्रयोग हुने विद्युतको डिमान्ड चार्ज लगायत अन्य शुल्क हटाउने, अफ–पिक आवरमा प्रयोग हुने विद्युतमा सहुलियत दिने, उन्नत जातको बिउ, आधुनिक प्रविधि, कृषि तथा पशु सेवा सम्बन्धी प्राविधिक जनशक्ति उपलब्ध गराई कृषिको उत्पादकत्व वृद्धि गर्ने एमालेले घोषणापत्रमा उल्लेख गरेको छ ।

त्यसै गरी एमालेले उत्पादनको भण्डारण, प्रशोधन तथा बजारीकरणमा सहयोग गर्ने, कृषि बिमा, कृषि कर्जा, कृषि उपजको समर्थन मूल्य निर्धारण र अनुदान जस्ता कदममार्फत किसानको लगानीको सुरक्षा गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

कृषिलाई लाभदायी पेशा बनाउँदै किसानहरूको बचत सुनिश्चित गर्ने, कृषि क्षेत्रमा पकेट, ब्लक, जोन र सुपर जोनलाई व्यवस्थित गरी सञ्चालन गर्ने, नेपालमै रासायनिक मल कारखाना स्थापना गर्न सहकार्य गर्ने, प्रत्येक पालिकाको पहिचान स्थापित गर्ने गरी विशेष खाद्य बाली, फलफूल, पुष्प खेती, नगदे बाली, पशुपन्छी, चराचुरुङ्गी वा जलचरको विकासको लागि निश्चित कृषि र पशु उत्पादनमा पालिकाहरूलाई आत्मनिर्भर बनाउने एमालेको घोषणापत्रमा उल्लेख छ ।

त्यसै गरी एमालेले आफ्नो घोषणापत्रमा पशुपालनका लागि पशुपंक्षीहरुको नस्ल सुधार, उन्नत घाँस, चरिचरन र खर्कको व्यवस्था गर्ने, पशुजन्य औद्योगिक उत्पादन तथा व्यवस्थापन गर्ने,उच्च मूल्यका खाद्यान्न, फलफूल, जडीबुटी, चिया, कफी, अलैँची, अदुवा, दूध सुपारी, कपास, रेशम, ऊन, रेसा, केशर लगायतका वस्तुहरूको उत्पादन, प्रशोधन र निर्यात गर्ने योजना पनि अघि सारेको छ ।

एमाले घोषणापत्रले कृषि सहकारीहरूका माध्यमबाट व्यावसायिक कृषिको विकास गर्ने, उत्पादक र उपभोक्ताको हित संरक्षण गर्दै वितरणमा बिचौलियाको वर्चस्व अन्त्य गर्ने र जलवायु परिवर्तनको प्रतिकूल प्रभावबाट किसानहरूलाई संरक्षण गर्ने प्रतिबद्धता घोषणापत्रमार्फत व्यक्त गरेको छ ।

भूसूचना प्रणालीमा नयाँ प्रविधिको विकास र क्षमता अभिवृद्धि गर्ने, अनुभवमा आधारित खेती प्रणालीलाई ज्ञान र प्रविधिमा आधारित खेती प्रणालीको रुपमा विकास गर्ने, अर्ग्यानिक खेतीको विकास गर्ने, प्राङ्गारिक मल र जैविक विषादीको उत्पादन र प्रयोग गर्ने, रैथाने बिउहरूको संरक्षण र विकास गर्ने, खाद्य सुरक्षाको प्रत्याभूति गर्ने तथा पालिकाहरूमा खाद्य ब्याङ्कको स्थापना गर्ने जस्ता विषयहरूलाई पनि एमालेले घोषणापत्रमार्फत अघि सारेको छ । रेडियो नेपाल

Translate »