सल्यान अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई सास्ती

दिपक शर्मा / फागुन १८, सल्यान । छत्रेश्वरी गाउँपालिकाकी शुस्मा बुढाथोकी सोमबार बिहान १० बजे सुत्केरी हुन जिल्ला अस्पताल पुगिन, उनले स्वास्थ्यकर्मीलाई खोज्दा खोज्दै हैरानी भइन तर कुनै पनि स्वास्थ्यकर्मी भेटिएनन् । स्वास्थ्यकर्मीले सुत्केरी हुने मिति फागुन ७ गते दिएका थिए ।

सुत्केरी हुने समय नाघिसकेकाले उनी अस्पताल आइन तर कोही डाक्टरलाई भेट्न सकिनन् । एक जना मात्र डिउटीमा खटिएका डाक्टरले सुत्केरी हुने मिति नाघिसकेकाले जिल्ला बाहिर जान सल्लाह दिए । तर उनीसँग जिल्ला बाहिर जाने पैसा थिएन ।

यस्तै बागचौर नगरपालिका–१२, बाफुखोलाकी सुशीला ओली पनि सुत्केरी हुन गाडी रिजर्भ गरेर जिल्ला अस्पताल पुगिन, तर एक जना डाक्टरले मात्र केही गर्न नसक्ने जनाएपछि उनी पनि अस्पतालबाट फर्किनु पर्‍यो । यी त केही उदाहरण पात्र मात्र हुन ।

सल्यान जिल्ला अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मी नहुँदा अस्पतालबाट दैनिक एक सय बढी बिरामी गर्भवती र सुत्केरी हुन आएका महिला उपचार नपाएर फर्किने गरेका छन् । अस्पतालमा ६ जना डाक्टर मध्ये एक जनाको सरुवा, दुई जनाले जागिर छाडेका, एक जना अध्ययन बिदामा र एक जना तालिममा भएका कारण अहिले अस्पतालको सेवा प्रभावित भएको छ । जिल्लाको एक मात्र ठुलो १५ शय्याको अस्पतालमा अहिले एक जना मात्र डाक्टरको भरमा चलेको छ । दैनिक २ सय जना भन्दा बढी बिरामी आउने अस्पतालमा अहिले बिरामी निजी अस्पताल र जिल्ला बाहिर जानु परेको छ ।

एक्लैले इमरजेन्सी पनि चलाउनुपर्ने हुन्छ, ओपिडी पनि चलाउनु पर्ने हुन्छ, अप्रेसन पनि गर्नुपर्दा एक्लै सम्भव छैन, अस्पतालमा एक्लै खटिएका एमडीजीपी डाक्टर अभिषेक सिंहले भने, ‘अस्पतालमा बिरामी आए पनि बाध्य भएर बाहिर रिफर गर्नुपरेको बताए’। अस्पतालमा बिरामी धेरै आउने भएकाले एक्लैले दिनरात खटिनु परेको डाक्टर सिंहले बताए ।

चिकित्सक नै नभएपछि अस्पतालले बिरामीहरूको भर्ना लिन समेत छोडेको छ । भने आकस्मिक कक्ष तथा वार्डमा बिरामीहरू भर्ना नगरिएको स्वास्थ्य कार्यालय सल्यानका निमित्त प्रमुख सुलोचना महर्जनले जानकारी दिए । प्रदेश सरकारसँग डाक्टरको माग गरिएको र केही दिनमा प्रदेशले डाक्टर पठाउने आशामा रहेको स्वास्थ्य सेवा कार्यालय सल्यानले जनाएको छ ।

अहिले शल्यक्रिया र जटिल प्रसूति सेवा बन्द भए पछि सल्यान सहित रुकुम पश्चिम र रोल्पाका केही भागका बिरामी र गर्भवती महिला समस्यामा परेका छन् ।

जिल्ला अस्पतालमा ८ जना चिकित्सकको दरबन्दी भए पनि अहिले १ जना मात्र कार्यरत छन्  । ५ जन मेडिकल अधिकृतको दरबन्दी रहेकोमा अहिले १ जना मात्रै छन् । अस्पतालमा स्वास्थ्यकर्मी नहुँदा बिरामी महँगो शुल्क तिरेर कोही निजी अस्पताल जान बाध्य छन् भने जिल्ला बाहिर जान बाध्य छन् । यता अस्पताल विकास समितिका अध्यक्ष सिपी ओलीले भने आफूहरूले पटक पटक डाक्टरहरूको माग गर्दा पनि प्रदेश र सङ्घीय सरकारले बेवास्ता गरेको बताए । जिल्ला अस्पतालमा डाक्टर आए पनि छिटो सरुवा हुने गरेकाले समस्या रहेको उनको भनाई छ । (रेडियो नेपाल)

Translate »