सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू 

स्काई न्यूज /फागुन १७, सुर्खेत । अमेरिकी सहयोग परियोना (एमसीसी) विरुद्धको आन्दोलन उग्र बनेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ । आन्दोलनकारीहरुले राजनीतिक दलका जिल्ला स्थित पार्टी कार्यालयसँगै सार्वजनिक सम्पत्तीमा तोडफोड गर्न थालेपछि प्रशासनले गएराती ७ :३० देखि आज बेलुका ८ः३० बजेसम्मका लागि वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले वीरेन्द्रनगरको पूर्व धुलियावीट, पश्चिममा बाङ्गेसिमल, उत्तरमा कपासे र दक्षिणमा शिवमन्दिर क्षेत्रसम्म कर्फ्यू  आदेश जारी गरिएको बताए । आन्दोलनकारीहरुले नेपाली कांग्रेस, नेकपा एमालेलगायतका पार्टी कार्यालयमा तोडफोड गर्नुका साथै बजार क्षेत्रमा रहेका प्रहरी वीटमा आगजनी गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । सुरक्षाकर्मीलाई ढुङ्गामुढा गर्ने १७ जना आन्दोलनकारीलाई नियन्त्रणमा लिएको सुर्खेतका प्रहरी प्रमुख (एसपी) पदमबहादुर विष्टले जानकारी दिए ।

Translate »