वडा अध्यक्ष कार्कीको निधनपछि छिन्चु बजार र सडक बन्द

फागुन १४,सुर्खेत । मोटरसाइकल दुर्घटनामा घाइते भएका सुर्खेतको भेरीगङ्गा नगरपालिका–१ का वडाध्यक्ष नवराज कार्कीको उपचारका क्रममा निधन भएपछि आक्रोशित स्थानीयवासीले आज बिहानैदेखि सुर्खेतको छिन्चु बजार र सडक बन्द गराएका छन् ।

वडाध्यक्ष कार्कीको शुक्रवार राति काठमाडौँको न्युरो अस्पतालमा निधन भएको हो ।

दोषीलाई कारबाही हुनुपर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने र हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै उनीहरूले आज बिहानैदेखि रत्न राजमार्गस्थित छिन्चु बजार र सडक अवरुद्ध पारेका हुन् । सडक अवरोधका कारण यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।

नेकपा (माओवादी केन्द्र)बाट जन निर्वाचित ३० वर्षीय कार्की सवार मोटरसाइकललाई फोर्स भ्यानले फागुन ८ मा ठक्कर दिएको थियो ।

रत्न राजमार्गअन्तर्गत भेरीगङ्गा नगरपालिका–१२ छिन्चु बजार नजिकै नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्बरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे६प ४४०१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा वडाध्यक्ष कार्की गम्भीर घाइते भएका हुन् । उनी सुर्खेतका निर्वाचित वडाध्यक्षमध्ये सबैभन्दा कान्छा वडाध्यक्ष हुन् । कार्की कुशल र सक्षम नेतृत्वका रुपमा आफ्नो पहिचान स्थापित गरेका थिए ।

Translate »