के हो चर्चित गीत ‘नोगेन’को अर्थ ?

 फागुन ६, काठमाडौं । गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूको स्वर रहेको ‘नोगेन’ बोलको गीत सुपरहिट भयो । सार्वजनिक भएको १२ दिनमै युट्युबमा ४० लाखभन्दा बढी भ्युज बटुलेको यो गीतले युट्युबमा दर्शकको प्रशंसा नै प्रशंसा कमाएको छ ।

यति मात्र होइन, यही गीतबाट संगीतकार महेश खड्काले पनि धमाकेदार कमब्याक गरेका छन् । गीतमा महेशकै शब्द छ । तर गीतले चर्चा कमाइरहँदा अधिकांश मानिसमा भने ‘नोगेन’को अर्थ के होला भन्ने कौतूहलता पनि छ ।

गीतकार महेश खड्काले ‘नोगेन’ शब्द लिम्बू भाषाबाट लिएका हुन् । लिम्बू भाषामा ‘नोगेन’को अर्थ ‘धन्यवाद’ भन्ने हुन्छ । गायक प्रमोद खरेल ‘नोगेन’ शब्द आममानिसको जिब्रोमा झुण्डिएकोमा खुसी व्यक्त गर्छन् । उनले भने, ‘नोगेनको अर्थ धेरै मानिसहरुलाई थाहा थिएन । तर हामीले यो गीतबाट लिम्बू भाषाको एउटा शब्दलाई भएपनि मानिसको बोलीचालीमा प्रयोग गर्न सक्ने बनाएका छौं । एउटा गीतमा कतिसम्म शक्ति हुन्छ भन्ने उदाहरण यो पनि हो ।’

गीतमा गुरु र चेलीले एकअर्कालाई धन्यवाद भनेका छन् । गीतकार खड्काले धन्यवाद भन्नका लागि लिम्बू भाषाको नोगेन शब्द लिए ।

गायक खरेल अगाडि भन्छन्, ‘गीत-संगीतमा नेपालमा बोलिने विभिन्न भाषालाई यसरी नै प्रयोग गर्ने हो भने कतिपय लोप हुँदै गएका भाषा पनि आममानिसमाझ आउने थिए ।’

भाषा, संस्कृति र देशलाई नै विश्वमाझ चिनाउनका लागि गीत-संगीत र चलचित्रको महत्वपूर्ण भूमिका हुन्छ । यसपटक एउटा गीतले यो कुरा सावित गरेको छ । (अनलाइन खबर)

Translate »