चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर

माघ १४,बाँके । बाँकेमा दुई हप्तादेखि निरन्तर बढिरहेको चिसोले विपन्न तथा मजदुरको दिनचर्या कष्टकर बनेको छ । चिसोका कारण आम जनजीवन प्रभावित भए पनि विपन्न तथा मजदुरलाई जाडो छल्न ठूलो समस्या भएको छ । विकल्पविहीन गरिब तथा ज्येष्ठ नागरिक अत्यधिक चिसोले कठ्याङ्ग्रिएर बस्न बाध्य छन् । बाँकेमा पछिल्लो तीन दिन अत्यधिक चिसो महसुस गरिएको छ ।

नेपालगञ्जको न्यूनतम तापक्रम ८.४ डिग्री सेल्सियसमा झरेको जल तथा मौसम विज्ञान कार्यालय कोहलपुरका प्रमुख वरिष्ठ जल अधिकृत विनोद पराजुलीले जानकारी दिए । उनका अनुसार न्यूनतम तापक्रम घट्दा चिसो बढी महसुस भएको हो । वर्षात् नभए पनि चिसो हावाका कारण तापक्रम घट्दो क्रममा रहेको छ । चिसोका र शीतलहरूबाट २६ हजार ३६ परिवारका एक लाख ६६ हजार प्रभावित हुनसक्ने जिल्ला विपद् व्यवस्थापन समितिले आकलन गरेको बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीले जानकारी दिए ।

उनले गरिब तथा निमुखालाई न्यानो कपडा उपलब्ध गराउने काम भइरहेको बताए । त्यसका लागि जिल्ला विपद् व्यवस्थापन समितिले ६०० थान कम्बल खरिद गरेर वितरण गरिरहेको उनको भनाइ छ । जिल्ला विपद् व्यवस्थापन समिति बाँकेले बाल सुधार गृहलाई सय थान, डुडुवा गाउँपालिका वडा नं ६, मगन्ताटोलका ४२ घरपरिवार र निलसागर वृद्धाश्रमलाई कम्बल वितरण गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी केसीले बताए । (रेडियो नेपाल)

Translate »