राष्ट्रिय सभा निर्वाचन : एक सिट जितेर पनि एमाले पहिलो दल

कर्णालीमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी

स्काई न्यूज /माघ १२, सुर्खेत ।  पाँच दलीय गठबन्धनको घेराबन्दी बीच प्रमुख प्रतिपक्षी नेकपा एमालेले राष्ट्रिय सभामा एक सिट जित्न सफल भएको छ । १९ सांसदको चार वर्षे कार्यकाल सकिएपछि बुधबार भएको मतदानमा एमालेले प्रदेश १ बाहेक अन्य ६ प्रदेशमा भने ७ सिट गुमाएको छ । राष्ट्रियसभामा अहिले एमालेको २४ सिट छ । तर सात सिट गुमाउँदा पनि ऊ पहिलो दलमै कायम रहने पक्का भएको छ । एमालेपछि राष्ट्रियसभामा माओवादीको १४, कांग्रेसको ७, एकीकृत समाजवादी ७, जनता समाजवादी २, लोकतान्त्रिक समाजवादी पार्टीको १ सिट छ । बाँकी ३ जना राष्ट्रपतिले मनोनीत गर्ने व्यवस्था छ ।

ती मध्ये चार वर्षे कार्यकाल पूरा गरेका १९ सदस्यका लागि बुधबार मतदान भएको थियो । सात प्रदेशमा सात महिला, तीन दलित, दुई अपांगता तथा अल्पसंख्यक र सात अन्य क्लस्टर गरी १९ सदस्यका लागि ४३ जना प्रतिस्पर्धामा थिए । त्यसमा एमालेबाट प्रदेश १ मा अल्पसंख्यकतर्फ सोनम ग्याल्जेन शेर्पा विजयी भए । यससँगै गठबन्धनले यो निर्वाचनमा एमालेलाई क्लिन स्विप गर्न बनाएको योजना पनि विफल भएको छ ।

रोचक त के छ भने राष्ट्रिय सभा निर्वाचनमा ७ सदस्य गुमाएर पनि एमाले पहिलो दलमै कायम छ । नेकपा भंग र एमाले पनि विभाजित हुँदा २४ सदस्यसहित एमाले पहिलो दल नै थियो । एमालेलाई पहिलो दलमा रोक्न बनाइएको कांग्रेस नेतृत्वको गठबन्धनको प्रयास प्रदेश १ मा सफल भएन । ७ सिट गुमाएर पनि एमाले १७ सदस्यसहित पहिलो दलमै कायम रहेको छ ।

निर्वाचनमा नेपाली कांग्रेससहितको माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाबीच गठबन्धन बनेको छ । एमालेले गुमाएको सात सदस्यमा नेपाली कांग्रेसले तीन, माओवादी, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले समान १–१ र जसपाले १ सदस्य जितेका छन् ।

एमालेबाट अगमप्रसाद बान्तावा राई, कविता बोगटी, कोमल वली, चक्रप्रसाद स्नेही, नैनकला ओझा, परशुराम मेघी गुरुङ, रामलखन चमार र सुमनराज प्याकुरेलको चार वर्षे पदावधि सकिएको थियो । सात सिट गुमाए पनि राष्ट्रिय सभामा एमालेका १७ सदस्य बाँकी छन् । तर, एकैपटक सात सदस्य गुमाएर पनि राष्ट्रिय सभामा एमाले नै पहिलो दल बनेको हो ।

१८ सिटमा गठबन्धन उम्मेदवार विजयी
बुधबार सम्पन्न राष्ट्रिय सभाका १९ सिटको निर्वाचनको अन्तिम मतपरिणा सार्वजनिक भएको छ । जसमा अधिकांश सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । १९ सिट मध्ये एक पदमा मात्र नेकपा एमाले उम्मेदवार विजयी भएका छन् । प्रदेश एकमा भने एक सिटमा एमाले उम्मेदवार विजयी भएका हो ।

प्रदेश १ मा गठबन्धनबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भएका छन् । अपांगता वा अल्पसंख्यकतर्फको सो पदमा एमालेका सोनाम ग्याल्जेन शेर्पा निर्वाचित भएका हुन् । राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गरेर साझा उम्मेदवारी दिएका थिए ।

कर्णाली प्रदेशमा आज ३ पदका लागि भएको राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । गठबन्धनकका तर्फबाट नेपाली कांग्रेसकी दुर्गाकुमारी गुरुङ (जुम्ला) २ हजार ९ सय ७०, नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट (सुर्खेत) ३ हजार ६ र नेकपा एकिकृत समाजबादीका उदय बोहोरा (सल्यान) ३ हजार ६ मत ल्याएर विजयी भएका हुन् । गुरुङ महिलाबाट, बिष्ट अपांगताबाट र बोहोरा अन्यबाट विजयी भएका छन् ।

पराजित हुने एमालेबाट सुर्खेतका चुडामणी शर्मा (खुला) १ हजार ४ सय १६, जुम्लाकी गंगा महत (महिला) १ हजार ४ सय १६ र दैलेखका पदमबहादुर माझी ( अल्पसंख्यक) १ हजार ३ सय ९८ मत ल्याउनुु भएको सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए ।

उनले राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा स्थानीय तहका प्रमुुख, उप–प्रमुख र प्रदेश सभाका सदस्य गरी कुल १ सय ९१ जना मतदाता रहेकोमा १ सय ८९ जनाले मतदान गर्नु भएको बताए । उनका अनुसार कुल खसेको मत मध्ये स्थानीय तह तर्फ ३ मत बदर भएका छन् ।

यस्तै गण्डकीबाट गठबन्धनका ३ जनै उम्मेदवार विजयी भएका छन् । महिला कोटामा कांग्रेसकी कमला पन्त, अन्य र दलित कोटाबाट माओवादी केन्द्रका सुरेश आलेमगर र भुवनबहादुर सुनार निर्वाचित भएका हुन् । लुम्बिनी प्रदेशमा पनि गठबन्धनका उम्मेदवार विजयी भए ।

गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका युवराज शर्मा, नेकपा (एकीकृत समाजवादी) बाट महिलामा राजेन्द्रलक्ष्मी गैरे र जनमोर्चाको तर्फबाट दलित उम्मेदवार तुलप्रसाद विश्वकर्मा निर्वाचित भएका हुन् । त्यस्तै सुदूरपश्चिममा पनि गठबन्धनका उम्मेदवार विजयी भए ।

सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भए । महिलातर्फ नेकपा (एकीकृत समाजवादी) मदन कुमारी शाह (गरिमा), दलिततर्फ एकीकृत माओवादी केन्द्रका जगत पार्की र अन्य समूहबाट नेपाली कांग्रेसका उम्मेदवार नारायणदत्त मिश्र विजयी भएका हुन् ।

मधेश प्रदेशबाट नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्धिकी निर्वाचित भएका छन् । वाग्मती प्रदेशमा गठबन्धनका तर्फबाट एकीकृत समाजवादीकी गोमादेवी तिमल्सिना र कांग्रेसका कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् ।

 

Translate »