राष्ट्रिय सभा निर्वाचन : कर्णालीमा मतगणना शुरु

स्काई न्यूज /माग १२, सुर्खेत ।  राष्ट्रियसभा सदस्य पदका लागि आज सुर्खेतको वीरेन्द्रनगरमा भएको मतदान सकिएलगत्तै मतगणना कार्य शुरु भएको छ । विहान ९ बजेदेखि ३ बजेसम्म भएको निर्वाचनमा स्थानीय तहका १ सय ५६ मध्ये १ सय ५५ र ३५ जना प्रदेशसभा सदस्य मध्ये ३४ जनाले मतदान गरेको सहायक निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेले जानकारी दिए । उनले प्रदेश सभा सदस्य १ जना र पालिकाका उपप्रमुख १ जना मतदानमा अनुपस्थित भएको बताए । राष्ट्रियसभा निर्वाचनका लागि कर्णाली प्रदेशमा स्थानीय तहका प्रमुुख, उप–प्रमुख र प्रदेश सभाका सदस्य गरी कुल १ सय ९१ जना मतदाता रहेका छन् ।

कर्णाली प्रदेशमा सुर्खेतको वीरेन्द्रनगर स्थित प्रदेश निर्वाचन कार्यालयको प्रांगणमा मतदानसँगै मतगणनाको व्यवस्था गरिएको छ । कर्णाली प्रदेशमा ३ पदका लागि ६ जना उम्मेदवार रहेका छन् । सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसका दुर्गाकुमारी गुरुङ, नेकपा माओवादी केन्द्रका नरबहादुर बिष्ट, र नेकपा एकिकृत समाजबादीका उदय बोहोरा रहेका छन भने प्रतिपक्षी एमालेबाट सुर्खेतका चुडामणी शर्मा, गंगा महत र पदमबहादुर माझी रहेका छन् ।

Translate »