बाढीपीडितका लागि कर्णाली प्रदेशद्वारा १२ करोड निकासा

माघ ५,सुर्खेत । कर्णाली प्रदेश सरकारले सुर्खेतका बाढीपीडितका लागि १२ करोड रुपैयाँ निकासा गरेको छ । विसं २०७१ साउनमा आएको बाढीबाट पश्चिम सुर्खेतको पञ्चपुरी, भेरीगङ्गा नगरपालिका र बराहताल गाउँपालिकाका पीडितको घर निर्माणका लागि सो रकम निकासा गरिएको हो । बाढीबाट एक हजार ४५ घरमा पूर्णरूपमा क्षति पुगेको थियो । कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले गत कात्तिक २९ गते मुगुको छायाँनाथ रारा नगरपालिका–१ गमगढीका आगलागी पीडितलाई जिल्ला प्रशासन कार्यालयमार्फत ६१ लाख ८५ हजार रुपैयाँ राहत रकम पठाएका छन् । यस्तै दुई करोड रुपैयाँ बराबरको विपद् सामग्री खरिद गर्न बोलपत्र आव्हान गरिएको छ ।

मुख्यमन्त्री रोजगार कार्यक्रमबाट ७१८ वडाका एक हजार ५५ आयोजनाको छनोट भएको मुख्यमन्त्री शाहीले बताए। उनले भने, ‘कर्णालीको बेरोजगारी र गरिबी समाधानका लागि बजेट छुट्टाइएको हो । रोजगार कार्यक्रमका लागि छनोट भई आएका आयोजनाको कार्यान्वयन गर्न सम्बन्धित स्थानीय तहमा बजेट पठाइसकेका छौँ ।’प्रदेश सरकारको ब्याज अनुदान कार्यक्रमतर्फ हालसम्म बैङ्कबाट २०९ र सहकारीबाट ६११ व्यवसायीले अनुदान लिएको र त्यसबापत एक करोड ५१ लाख रुपैयाँ प्रदेश सरकारले ब्याज भुक्तानी गरेको मुख्यमन्त्री शाहीले बताए । प्रदेश सरकारद्वारा ‘कर्णाली प्रदेश प्रसारण नियमावली, २०७६’ संशोधन गरी सञ्चारमाध्यमको आव २०७८/७९ को नवीकरण दस्तुर छुट र रोयल्टी शुल्क एक प्रतिशत झारिएको छ ।

Translate »