सुर्खेतमा थपिए १० हजारभन्दा बढी मतदाता

सुर्खेत । प्रदेश निर्वाचन कार्यालयले स्थानीयस्तरसम्म मतदाता नामावली संकलन अभियान सञ्चालन गरेपछि सुर्खेतमा १० हजारभन्दा बढी मतदाता थपिएका छन् । निर्वाचन आयोगले मङ्सिरदेखि पुस १८ गतेसम्म स्थानीय तहमा सञ्चालन गरेको विशेष अभियानबाट सुर्खेतमा १० हजार ४१४ नयाँ मतदाता थपिएका हुन् ।

प्रदेश निर्वाचन कार्यालय सुर्खेतले विशेष अभियान सकिए पनि जिल्ला प्रशासन, निर्वाचन कार्यालय र इलाका प्रशासनबाट नियमित मतदाता नामावली दर्ता भइरहेको बताएको छ । प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले निर्वाचनको मिति घोषणा नहुञ्जेलसम्म मतदाता नामावली संकलन कार्य चलिरहने हुँदा मतदाता संख्या अझै बढ्ने बताए । उनका अनुसार अन्य जिल्लाका एक हजार ६१० जनाले सुर्खेतबाट नामावली दर्ता गराएका छन् । उनीहरूको मतदाता विवरण भने सम्बन्धित जिल्लामै कायम हुनेछ ।

यसअघि सुर्खेतमा दुई लाख १३ हजार मतदाता थिए । निर्वाचन आयोगले स्थानीयस्तरमै जनशक्ति परिचालन गरी पहिलो र दोस्रो चरणको मतदाता नामावली संकलन गर्न विशेष अभियान सञ्चालन गरेको थियो । प्रदेश निर्वाचन अधिकारी चालिसेले सुर्खेतका स्थानीय तहमा मङ्सिर १७ देखि पुस २ गतेसम्म पहिलो चरण तथा पुस ४ देखि १८ गतेसम्म दोस्रो चरणको अभियान सञ्चालन गरिएको जानकारी दिए । विशेष अभियानमा छुटेका व्यक्तिले इलाका प्रशासन कार्यालय बाबियाचौर, जिल्ला प्रशासन र निर्वाचन कार्यालयमा नाम दर्ता गराउन सकिने उनको भनाइ छ ।

विशेष अभियानका क्रममा चिंगाडमा १९८, चौकुनेमा ६५६, सिम्तामा ४४१ र बराहताल गाउँपालिकामा ५०४ तथा लेकबेँसीमा ९८४, गुर्भाकोटमा एक हजार ४०२ र भेरीगंगा नगरपालिकामा दुई हजार ६७ नयाँ मतदाता थपिएका छन् । त्यस्तै पञ्चपुरी नगरपालिकाको इलाका प्रशासन कार्यालय बाबियाचौर तथा वीरेन्द्रनगर नगरपालिकाको जिल्ला प्रशासन र प्रदेश निर्वाचन कार्यालयबाटै नामावली संकलन गरिएको थियो ।

Translate »