रैथाने बालीमा किसानको आकर्षण घट्दै

माघ २,सल्यान । लगानी र मेहनत अनुसारको प्रतिफल निकै कम आउने भएपछि सल्यानका किसान बढी उत्पादन दिने अन्नबाली तथा तरकारी खेतीमा आकर्षित भएका छन् । बढी उब्जनी हुने अन्नबाली र तरकारी खेतीबाट राम्रो आम्दानी हुने भएपछि जिल्लामा उत्पादित रैथाने बाली पछिल्ला वर्षमा कम क्षेत्रफलमा मात्र खेती हुने गरेको छ ।
रैथाने बालीको उत्पादकत्व कम हुने भएपछि विगतको भन्दा पछिल्लो समय आधुनिक र बढी उब्जनी हुने अन्नबाली तथा तरकारी खेती गर्ने किसानहरूको संख्यामा वृद्धि आएको कृषि विकास कार्यालय सल्यानका निमित्त कार्यालय प्रमुख भरत बस्नेतले बताए ।


पहिले निकै मेहनतका साथ उत्पादन गरिने कोदो, फापर, जौ, तिल, भटमास लगायतका बालीको उत्पादकत्व निकै कम हुने गर्दछ । पछिल्लो समय मेहनत गर्ने मानिसको अभाव, जलवायु परिवर्तन र सहरीकरणले गर्दा पनि परम्परागत बाली भन्दा छोटो समयमा धेरै उत्पादन अन्नबाली तिर किसान लागि परेका छन् । सहर बजारमा परम्परागत अन्नबालीको माग बढ्न थालेपछि केही किसानहरू भने रैथाने बाली उत्पादन तिर लागेको बस्नेतको भनाई छ ।
बजारमा विशेष गरी, कोदो, फापर, मकै, जौ को माग बढ्दै गइरहेको छ । त्यसकारण पनि केही किसानहरूले भने परम्परागत कृषिलाई अँगाल्दै आइरहेको उनको भनाई छ । (रेडियो नेपाल)

Translate »