हुम्लामा चामलको मूल्य घट्यो

पुस ३० हुम्ला । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडद्वारा ढुवानी अनुदानमा बिक्री हुने चामलको मूल्य घटेको छ । लिमिटेडको हुम्ला शाखाले लिखित रुपमा मूल्य घटाउन गरेको अनुरोधलाई केन्द्रले सुनुवाइ गरेको हो । लिमिटेडको शाखाका प्रमुख कृष्णप्रसाद अधिकारीले शाखाद्वारा बिक्री हुने सबै प्रकारका चामलको मूल्य घटेको बताए । केही दिन अगाडि शाखाले चामलको मुल्य घटाउन अनुरोध गरेकोमा सोलाई केन्द्रले समर्थन गर्दै घटेको मूल्य शाखाले कार्यान्वयनमा ल्याएको छ ।

यसअघि घटेको मुल्य शाखाले अत्यावश्यक कामका लागि बिक्री हुने खाद्यन्नको मूल्य गत आइतबार लागू गरिसकेको बताउदै प्रमुख अधिकारीले शुक्रबारबाट बिक्री हुने सर्वसाधारणका लागि पनि त्यो मूल्य लागू हुने बताए । उनकाअनुसार घटेको मूल्यमा अनुसार मोटा चामलको मूल्य प्रति क्वीन्टल पाँच हजार आठ सयबाट घटेर पाँच हजार छ सय पुगेको छ । अरुवा मकवानपुर चामलको मूल्य प्रतिक्वीन्टल पाँच हजार नौ सयबाट घटेर पाँच हजार आठ सयमा झरेको अधिकारीले बताए । सँगै सोना मन्सुली चामलको मूल्य पुरानै प्रति क्वीन्टल छ हजार दुई सय कायम छ । यता अरुवा मध्यमको मूल्य प्रति क्वीन्टल छ हजार एक सयबाट घटेर छ हजार पुगेको छ ।

त्यसैगरी जापनिज चामलको मुल्य प्रति क्वीन्टल छ हजार पाँच सयबाट घटेर पाँच हजार सात सयमा झरेको छ । त्यस्तै, उनले स्टिम जिरा चामलको मुल्य प्रतिक्वीन्टल आठ हजार दुई सयबाट घटेर आठ हजारमा झरेको बताए । यो मूल्य सबैका लागि लागु भएको र त्यसमा पच्चीस प्रतिशत थपेर कर्मचारीलाई लागु भएको शाखाले जनाएको छ । यसअघि दशैलाई मध्यनजर राखेर खाद्यन्नमा मूल्य घटाएको लिमिटेडले पहिलो पटक खाद्यान्नको मूल्य घटाएको हो । यसबाट सर्वसाधारणलाई प्रतिक्वीन्टल एक सय रुपियाँदेखि आठ सय रुपियाँसम्म मूल्य राहत पुगेको छ । घटेको मूल्य जिल्लाका बिक्री केन्द्र र डिपोमा पनि लागू भइसकेको शाखाले जनाएको छ । (गोरखापत्र अनलाइन)

Translate »