कर्णालीमा ईन्टरनेट विस्तार योजना : दोब्बर समय बित्दा समेत काम अधुरै

स्काई न्यूज / पुस २८, सुर्खेत । नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोष (आरडीटीएफ) परिचालन गरी सञ्चालन गरेका परियोजनाले कर्णालीमा गति लिन सकेका छैनन् । आरडीटीएफअन्तर्गत ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार, सूचना महामार्ग निर्माण जस्ता परियोजनाले कर्णालीसँगै सुदूरपश्चिम प्रदेशमा कोरोना तथा प्राविधिक कारण देखाउँदै निर्माण जिम्मा पाएकाले परियोजना अघि बढउन नसकेका हुन् । निर्धारितभन्दा दोब्बर समय बित्दा समेत निर्माण जिम्मा पाएकाले गतिलाई अघि बढाउन नसक्दा हालसम्म कर्णालीको सुर्खेत दैलेखको आधा समेत विस्तार हुन सकेको छैन् । मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने सूचना महामार्गको कामलाई तीन वटा प्याकेजमा बाँडेर अघि बढाइएको थियो । प्याकेज ३ का कर्णाली र सुदूरपश्चिम प्रदेशमा अप्टिकल फाइबर बिछ्याउने काम नेपाल टेलिकमले गर्दै आएको छ  । यसअघि प्याकेज ३ अन्तर्गत कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको काम स्मार्ट टेलिकमलाई दिईएको थियो । सम्झौता भएको निर्धारित समयसम्म पनि काम शुरु नगरेपछि सम्झौता रद्द गरिएको थियो । सोहि प्याकेज नेपाल टेलिकमलाई दुई वर्षभित्र सम्पन्न गर्ने गरी अर्को सम्झौता गरिएको थियो । मध्यपहाडी लोकमार्ग तथा जिल्ला सदरमुकाम जोड्ने भन्दै शुरु भएको सूचना महामार्गको काम दोब्बर समय बितिसक्दासम्म आधा पनि सम्पन्न हुन सकेको छैन । ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी २ वर्ष भित्र सक्ने गरि अगाडी बढाईएको यो आयोजना ४ वर्ष पुग्दासमेत सम्पन्न नभएको हो । सूचना महामार्गको निर्माण परियोजना तीन ओटा प्याकेजमा अगाडी बढाईएको थियो । सुस्त गतिमा अगाडी बढेको यो प्याकेजको उपकरण आपूर्ति भई केही स्थानमा जडान कार्यसमेत शुरु भएको प्राधिकरणले बताएको छ ।

दुई वर्षको अवधिमा २८ ओटा डीएमडीडव्लु उपकरण जडान गर्नुपर्नेमा २१ वटा जडान गरिएको छ । अरु प्रगती भने केहि पनि भएको छैन । २ हजार १७९ किलोमिटर अप्टिकल फाईबर बिछ्याउन दुई वर्षको अवधि पाएको टेलिकमले ठेक्का पाएको चार वर्षसम्म पनि सम्पन्न गर्न सकेको छैन । टेलिकमले हालसम्म जम्मा ४७ प्रतिशत अर्थात् १ हजार २४ किलोमिटर मात्रै अप्टिकल फाईबर बिछ्याएको छ । त्यसमा २७ ओटा डीडव्लुडीएम प्रणालीको जडान र ४७ ओटा कोर राउटर जडान गरिएको प्राधिकरणले बताएको छ । प्याकेज १ अन्तर्गत प्रदेश नं १, २ र बाग्मती प्रदेश को काम नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले गरिरहेको छ । प्याकेज २ अन्तरगत गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा यूनाइटेड टेलिकम (यूटिएल) ले दुई वर्षभित्र सम्पन्न गर्ने गरि सम्झौता गरेकोमा काम नै नगरेपछि मन्त्रीपरिषद्को निर्णयले यूटीएलबाट खोसेर नेपाल टेलिकमलाई नै दिईएको थियो । तर यूटीएलले सो ठेक्का आफूले नै पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा गएको थियो । रिट निवेदनको टुङ्गो नलागेसम्म सम्झौता अवधि थप नगर्ने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चले २०७६ वैशाखमै अन्तरिम आदेश जारी गरेको थियो । अदालतको अर्को निर्णय नआउँदा यो प्याकेजको काम भने शुरु नै हुन नसकेको हो । उक्त काम गर्न भन्दै यूटिएलले प्राधिकरणबाट ४० करोड २० लाख रुपैयाँ अग्रीम भुक्तानी लिइसकेको छ । सूचना महामार्ग परियोजनाको सम्झौता रकम ९ अर्ब ८९ करोड १७ लाख रुपैयाँमध्ये प्याकेज १ को लागि नेपाल टेलिकमलाई ६१ करोड ५५ लाख रुपैयाँ अग्रिम भुक्तानी भएको छ ।

माग अनुपातमा आपूर्तिमा सकस
उच्च गुणस्तरीय इन्टरनेटका साथै भ्वाइस सुविधा समेत प्रयोग गर्न सकिने फाइबर टु दी होम (एफटीटीएच) सेवाको माग दिन प्रतिदिन बढ्दो छ । नेपाल टेलिकमले दक्ष कर्मचारी तथा प्रक्रियागत समस्याले कर्णालीका उपभोक्ताको माग अनुपातमा सेवा पु¥याउन सकस भईरहेको बताएको छ । एफटीटीएचमा एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन र द्रुत गतिको इन्टरनेट प्रयोगमा ल्याउन सकिने भएकाले उपभोक्ता माँझ यो सेवाको माग दिनप्रतिदिन बढेको हो । सेलुलर मोबाइल फोनको लोकप्रियतासँगै ल्याण्डलाइन ग्राहकको संख्या घटिरहेका बेला पछिल्लो समय एफटीटीएच प्रविधिले पुनः उपभोक्तालाई ल्याण्डलाइन जडान गर्नतर्फ आकर्षित गरेको छ । टेलिकम सुर्खेतको तथ्यांक अनुसार एफटीटीएचको प्रयोगकर्ता सदरमुकाम वीरेन्द्रनगरमा मात्र ४२०० छन् । थप विस्तारको काम भइरहेकाले अब चालू आर्थिक वर्षभित्र ८ हजार एफटीटीएच ग्राहक बनाउने लक्ष्य रहेको नेपाल टेलिकम सुर्खेत कार्यालयका प्रमुख वरिष्ठ इञ्जिनीयर सन्तोष शर्माले बताउँछन् ।

उनले सस्तो मूल्यमा फाइबर इन्टरनेट उपलब्ध गराउँदै आएको टेलिकमले ग्राहकको सहजताका लागि विभिन्न सुविधा उपलब्ध गराउँदै आएको जनाए । ‘कर्णाली प्रदेशको दैलेखका केही स्थानमा एफटीटीएच सेवा विस्तार भइसकेको छ,’ नेपाल टेलिकम कर्णाली प्रादेशिक निर्देशनालयका निर्देशक अनन्तप्रकाश मल्लिकले भने, ‘छिट्टै सल्यानको सल्लीबजार, सुर्खेतको छिन्चुसँगै जाजरकोट, कालिकोट र जुम्लालगायतका जिल्लामा यो सेवा पु¥याउँदै छौं ।’ टेलिकम सुर्खेतसँगै कर्णाली प्रदेशका अन्य जिल्लामा समेत एफटीटीएच सेवा विस्तार अभियानमा जुटेको उनले बताए । उनका अनुसार यो प्रविधिमार्फत अप्टिकल फाइबर पु¥याएर ट्रिपल प्ले अर्थात् भ्वाइस, उच्च गतिको इन्टरनेट, आईपीटीबी र भिडियो सेवाहरु प्रदान गर्न सकिने भएकाले ग्राहकका लागि यो सेवा प्रभावकारी बनेको छ । कर्णालीमा टेलिकमको सेवा सुविधा थप व्यवस्थित गर्दै सर्वसुलभ बनाउने काममा कोरोना महामारी लगायत कारणले ढिलाइ भएपनि अब तीव्रता दिईने उनको भनाइ छ ।

Translate »