गठबन्धन सरकार कमिसनको चक्करमा पर्दा देशको अर्थतन्त्र गम्भीर मोडमा : नेता कँडेल

प्रदेशका ७ जिल्लामा एमाले अधिवेशन सुरु

स्काई न्युज /पुस २३, सुर्खेत । नेकपा एमालेको आठौं अधिवेशन अन्तर्गत कर्णालीका ७ जिल्लामा शुक्रबारदेखि जिल्ला अधिवेशन सुरु भएको छ । मुगु, हुम्ला र कालिकोटमा भने अधिवेशन स्थगित भएको छ । सुर्खेत, दैलेख, जुम्ला, डोल्पा, जाजरकोट, रुकुमपश्चिम र सल्यान जिल्लाको अधिवेशन पूर्व निर्धारितक कार्यक्रम अनुसार नै भएका छन् । एमाले सुर्खेतको आठौं जिल्ला अधिवेशन जिल्ला अध्यक्ष ध्रुवकुमार शाहीको अध्यक्षता तथा स्थायी कमिटी सदस्य यामलाल कँडेलको प्रमुख आतिथ्यता एवम् केन्द्रीय सदस्यद्वय नवराज रावत र मोहनमाया ढकालको सहभागितामा शुरु भएको छ ।

कार्यक्रम अघि निवर्तमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीको केन्द्रीय कार्यालय स्थित एक्सन रुमबाट भर्चुअल माध्यमले सम्बोधन गर्दै सहमतिबाट नेतृत्व चयन गर्न आग्रह गरे । ‘सकेसम्म समझदारीबाट नेतृत्व चुन्न आग्रह गर्छु,’ उनले भने, ‘नभए स्वस्थ प्रतिस्पर्धाबाट अगाडि बढ्नुस् ।’ जिल्ला कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरिएको छ भने ५ पदाधिकारीमध्ये एक महिला हुनु पर्नेछ । दुई दिन सम्म चल्ने पार्टीको जिल्ला अधिवेशनले जिल्लाको आगामी नेतृत्व समेत चयन गर्नेछ ।

उद्घाटन सत्रमा स्थायी कमिटी सदस्य कँडेलले गठबन्धन सरकार कमिसनको चक्करमा पर्दा देशको अर्थतन्त्र गम्भीर मोडमा पुगेको बताए । उनले अहिलेको गठबन्धन सरकार आयात मुखी अर्थतन्त्रमा रमाएर कमिसनको चक्करमा फसेको आरोप लगाए । ‘एमालेको नेतृत्वमा सरकार हुँदा देशमा हुने उत्पादनको निर्यात दर बढेको थियो । जसका कारण डलरको सञ्चित घटेको थियो,’ उनले भने, ‘तर अहिले निर्यात ठप्प छ, गठबन्धनका नेता तथा मन्त्री बढी भन्दा बढी आयत गरेर कसरी कमिसन खाने भन्ने चक्करमा रुमलिएको कारणले डलरको सञ्चित बढेको छ ।’

उनले एमाले पार्टी सधैं सही एजेण्डा लिएर अघि बढेकाले आमनागरिकको समर्थन र माया पाइरहेको उल्लेख गरे । जिल्लामा नेतृत्व चयन गर्दा सबै मिल्नुपर्ने र मिलेर नै आमनिर्वाचनमा जानुपर्ने उनको भनाइ थियो ।

नेकपा एमाले केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला ईन्चार्ज नवराज रावतले देशको समृद्धि र शान्तिका लागि एमाले सत्तामा पुग्नुपर्ने बताए । उनले प्रचण्डको स्वार्थका कारण माओवादी र एमालेको पार्टी एकता हुन नसकेको बताए । ‘ओलीले देशलाई सम्वृद्ध बनाउने योजना बनाएपछि त्यसलाई सफल हुन नदिन प्रचण्डले पार्टी भित्रै गुट गर्दै एकता प्रक्रिया तोडेका हुन्,’ उनले भने, ‘एमाले र माओवादीलाई अदालतले अलग गरेको होइन्, अदालतले नेकपा नाम परिवर्तन गर्न मात्रै भनेको हो । तर प्रचण्डले पार्टी एकता गर्न नै चाहेनन् ।’ उनले अदालतको निर्णयपछि ओलीले पार्टीको नाम सोचौं भन्दा प्रचण्डले त्यसलाई मजाक बनाए, एकता प्रक्रिया भाडेको आरोप लगाए ।

अर्का केन्द्रीय सदस्य तथा सुर्खेत जिल्ला सह–ईन्चार्ज मोहनमाया ढकालले पार्टीले विगतबाट उठाएको एजेण्डा लिएर चुनाबमा जाने बताईन् । उनले ओली जति देशभक्त र विकासप्रतिको कटिबद्ध नेता नेपालमा अरु कोही नभएको जिकिर गरिन् । ‘कांग्रेस पुँजीबादी पार्टी हो,’ उनले भनिन्, ‘माओवादी र अन्य दल अहिले उसैको पछाडि लागेका छन्, ओली बाहेक अरुमा देश विकासको चिन्ता नै छैन ।’ यता एमाले प्रदेश कमिटीका अध्यक्ष विनोद कुमार शाहका अनुसार सबै जिल्लाको नयाँ नेतृत्व भने सर्वसम्मतिबाट नै तय गरिने जानकारी दिए । त्यसका लागि जिल्लातहका नेताहरु छलफलमा जुटेका छन् ।

साथै, हुम्लाको अधिवेशन एक महिनाको लागि स्थगित भएको छ भने हुम्लामा आउँदो माघको २३ गते अधिवेशन हुनेछ । यस्तै, मुगु जिल्लामा यहीं पुस २७ गते सम्मको लागि स्थगित भएको छ भने कालिकोटमा पुस २४ गते शनिबार हुने एमालेले कर्णाली प्रदेशले जनाएको छ । साथै यी तीन जिल्लामा अधिवेशन स्थगित भने बिहीबारबाट भएको मौसम बदलीको कारणले चिसो बढेको हुँदा अधिवेशन स्थगित गरिएको बताइएको छ ।

Translate »