एयरफोनमा लामो समयसम्म गीत सुन्नुहुन्छ ? आउन सक्छन् यस्ता समस्या

 पुस २१, काठमाडौं । तपाईंले लामो समयसम्म ठूलो आवाजमा एयरफोनबाट गीत सुन्ने वा अरुसँग कुरा गर्ने गर्नुभएको छ ? एयरफोनमा लामो समयसम्म आवाज सुन्ने र बाहिरै पनि ठूलो स्पिकरमा आवाज सुन्ने गर्नुभएको भने आजै बन्द गर्न चिकित्सकहरु सुझाव दिन्छन् । लामो समयसम्म एयरफोन र ठूलो आवाज सुनेर बस्दा कानको दीर्घकालीन समस्या निम्तिने जोखिम बढी हुने नाक, कान, घाँटी रोग विशेषज्ञहरु बताउँछन् ।

विभिन्न अध्ययनले दैनिक एक घण्टाभन्दा धेरै एयरफोनमा संगीत सुन्न नहुने देखाएको छ । ठूलो आवाज त झनै सकेसम्म सुन्दै नसुन्न चिकित्सकहरु सुझाव दिन्छन् । यसले कानभित्र रहेका विभिन्न स्नायुलाई असर गरेर मान्छेले कानै नसुन्ने समस्यासम्म हुन सक्नेतर्फ चिकित्सकहरुले चेतावनी दिएका छन् ।

वीर अस्पतालको नाक, कान, घाँटी रोग विभागका आवासीय चिकित्सक डा. आशिष गौतम लामो समय कानमा एयरफोन लगाउने तथा ठूलो आवाजमा गीत सुन्दा यसले कानको सुन्ने क्षमतामा ह्रास आउने बताउँछन् । एक्कासी ठूलो गीत सुन्दा त्यसले कानको जाली फुट्नेसम्मका समस्या आउन सक्ने उनको भनाइ छ ।

त्यसो त विभिन्न अध्ययनले पनि एक घण्टाभन्दा धेरै नियमित एयरफोन लगाउनेको कानमा विभिन्न समस्या निम्तिने जोखिम औंल्याएको छ । सन् २०१८ मा चण्डीगढ विश्वविद्यालयबाट एयरफोन र हेडफोनमा ठूलो आवाजमा गीत सुन्ने विद्यार्थीको स्वास्थ्यमाथि गरिएको अध्ययनमा ६० प्रतिशत सहभागीहरुमा गम्भीर स्वास्थ्य समस्या भएको देखाएको थियो । उक्त अध्ययनमा सहभागीमध्ये जम्मा ४३ प्रतिशतले मात्रै एक घण्टामा केही समय एयरफोन कानबाट हटाउने गरेको बताएका थिए । १५ प्रतिशतले तीन घण्टासम्म ब्रेक नलिने गरेको भेटिएको छ । कुल सहभागीमध्ये १५ प्रतिशतमा एयरफोनबाटै विभिन्न संक्रमण भएको देखिएको छ ।

यसबाहेक अमेरिकाको बायोटेक्नोलोजिकल इन्फर्मेसन सेन्टरको अध्ययनले पनि लामो समय एयरफोन लगाउनेमा इन्फेक्सन र कम सुन्ने समस्या हुने गरेको औंल्याएको थियो । धेरै एयरफोन लगाउँदा कानको स्नायुमा असर गर्ने अध्ययनले देखाएको छ । लामो समय र ठूलो आवाजमा एयरफोन वा हेडफोन प्रयोग गर्दा निम्न समस्याहरु देखिने गर्दछन् ।

चक्कर लाग्ने

लामो समयसम्म एयरफोनमा आवाज सुनिरहँदा चक्कर लाग्ने समस्या बढी हुन्छ । ठूलो आवाज धेरैबेरसम्म सुन्दा त्यसले टाउकोमा असर गर्ने गर्छ ।

स्थायी तथा अस्थायी श्रवण शक्ति गुम्ने जोखिम

नियमित ठूलो स्वरमा आवाज सुन्ने तथा ठूलो आवाजमा बाहिरै पनि गीन बजाउँदा मान्छेको स्थायी तथा अस्थायी श्रवणशक्ति गुम्ने जोखिम बढी हुन्छ ।

कानमा धेरै कोषिकाहरू हुन्छन् । कपालको कोषिका भनेर चिनिने सानो कपाल जस्तो संरचनाहरू छन् जसले कानबाट मस्तिष्कसम्म ध्वनि प्रवाह गर्ने काम गर्छन् । धेरै ठूलो आवाजले यी कोषिकामा गम्भीर समस्या निम्त्याउन सक्छ, जसले ध्वनि प्रसारणको सम्पूर्ण प्रक्रियामा बाधा पुर्‍याउँछ ।

कानमा इन्फेक्सन

नियमित एयरफोन वा हेडफोनहरू लगाउँदा कानभित्र हावा छिर्ने मार्गमा अवरोध सिर्जना हुन्छ । यो अवरोध नै कानको संक्रमणको सामान्य कारण बन्न सक्छ । एयरफोन प्रयोग गर्दा कानमा ब्याक्टेरियाको विकास हुन्छ । हेडफोन प्याकमा त्यसैले पनि चेतावनीको संकेत राखिएको हुन्छ । यदि एयरफोनको प्रयोग बढ्यो भने यसले कानमा संक्रमणको जोखिम बढाउन सक्छ । हानिकारक ब्याक्टेरिया तपाईंको कानबाट एयरफोन चलाउने अर्को व्यक्तिमा सर्ने भएकोले एयरफोन सकेसम्म अर्को व्यक्तिलाई चलाउन दिनु हुँदैन ।

कानको दुखाइ

दैनिक लामो समयसम्म इयरफोन प्रयोग गर्दा कान दुख्ने समस्या सबैभन्दा धेरै देखिन्छ । प्राकृतिकभन्दा धेरै आवाज एयरफोनको माध्यमबाट कानसम्म पुग्छ भने यसले उपकरणमार्फत उत्पादन हुने आवाजलाई प्राकृतिक रुपमा सहजै स्वीकार्न सक्दैन । बाहिरी कानमा अत्याधिक दबाब पर्ने र कानको पर्दामा पर्ने असरले पनि कान दुख्ने समस्या बढ्ने गर्छ ।

एकाग्रतामा समस्या

एयरफोनहरु धेरै साना भएपनि यसबाट निस्कने आवाजले तपाईंको कानको पर्दामा ठूलो नकारात्मक प्रभाव पार्न सक्छ । ध्वनि कानबाट मस्तिष्कसम्म पुग्छ र यसले स्नायु प्रणालीलाई असर गर्छ । जसले गर्दा मान्छेको कुनैपनि कुरामा गहिराइमा ध्यान दिने र एकाग्र बन्ने क्षमतामा कमी आउँछ । (अनलाइन खबर)

Translate »