पचास बर्षपछि सुन्दरी तोप दैलेख ल्याँईदै

पुस २१,दैलेख । दैलेखको ऐतिहासिक कोतगढीमा राखिएको सुन्दरी तोप ५० बर्षपछि पुनः दैलेख ल्याइने भएको छ । ५० वर्षदेखि सुर्खेतको मध्यपश्चिम पृतनामा राखिएको उक्त तोप २१ गते दैलेख ल्याइने भएको छ । तत्कालीन समयमा कोतगढीमा रहेका सुन्दरी र अर्गा तोपमध्ये सुन्दरी तोप दैलेख ल्याउन लागिएको हो । तत्कालीन समयमा असुरक्षा लगायतका विभिन्न कारण देखाई २०२८ सालमा कोतगढीबाट गण सर्ने क्रममै सुर्खेत लगिएको थियो ।

दुई वटा तोप सुर्खेत पुर्‍याउन तीन महिना लागेको जानकारहरू बताउँछन् । सुन्दरी तोप बि.सं. १८४६ मा बहादुर शाहको पालामा उक्त तोप बनेको जनश्रुति छ । संघीयता आएसँगै दैलेखका राजनीतिक दल, स्थानीय सरकार, नागरिक समाजले कोतगढीमै तोप ल्याउनुपर्ने माग गर्दै आएका थिए, स्थानीय प्रशासन, जिल्लामा रहेको नेपाली सेनाको गण सबैको पहलपछि उक्त तोप दैलेख आएको हो । तोप बुझ्नका लागि नारायण नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तीर्थ नारायण श्रेष्ठ सुर्खेत पुगेका छन् । दैलेखको इन्द्रदल गुल्मका गुल्मपती मेजर दिनेश लामाले सुन्दरी तोप र ८१ थान गोला भरपाई गरेर बुझिसकेका छन् ।

आज बिहान ७ बजे सुर्खेतबाट तोप ल्याइने र दैलेख सदरमुकाम परिक्रमा गरेर इन्द्रदल गुल्ममा राखिने भएको छ । कोतगढीको पुनर्निर्माण सम्पन्न भएपश्चत उत्त तोप पुनः कोतगढीमै राखिने भएको छ । कोतगढीलाई पर्यटकीय क्षेत्र बनाउने अभियान अन्तर्गत यस्तो काम सुरु गरिएको नारायण नगरपालिका वडा नं. १ का वडा अध्यक्ष तीर्थ नारायण श्रेष्ठले जानकारी दिएका छन् । (नेपाल टेलिभिजन)

Translate »