मुख्यमन्त्री शाहीद्वारा सरकारले गरेका कामका बारेमा प्रदेश प्रमुखलाई जानकारी

स्काई न्यूज / पुस १७, सुर्खेत । कर्णाली प्रदेश प्रमुख तिलक परियार र मुख्यमन्त्री जीवनबहादुर शाहीबीच शनिबार भेटवार्ता भएको छ । भेटका क्रममा मुख्यमन्त्री शाहीले सरकारले गरेका काम–कारबाहीका बारेमा प्रदेश प्रमुखलाई जानकारी गराएका छन् ।

मुख्यमन्त्री शाहीले हरेक बुधवार मन्त्रिपरिषद् बैठक बस्ने गरेको, प्रत्येक आइतबार मन्त्रालयका सचिवसँग नियमित बैठक बस्ने गरेको, कोरोनाका कारण रोकिएका विकास योजनाको म्याद तीन महिना थप गरिएको, भौतिक पूर्वाधार र ऊर्जा जलस्रोत विकास मन्त्रालयमा देखिएको कर्मचारीको समस्या समाधान भएको, दोस्रो चौमासिकमा पुँजीगत खर्च बढ्ने प्रदेश प्रमुखलाई जानकारी गराए।

उनले पाँच वर्षदेखि १७ वर्षसम्मका कर्णालीका सम्पूर्ण बालबालिकालाई खोप लगाउने तयारी भइरहेको समेत जानकारी गराए । भेटका क्रममा प्रदेश प्रमुखले सरकारका काम–कारबाहीप्रति आफू सन्तुष्ट रहेको बताए।

उनले आन्तनिर्भर अर्थतन्त्रको विकासका लागि कृषिको उत्पादन बढाउनका लागि कृषकका उत्पादनहरू प्रदेश सरकारले खरिद र बजारीकरणको व्यवस्था गर्ने वातावरण मिलाउन, काला पहाड र विदेशमा जाने मानव श्रमलाई आफ्नै गाउँ ठाउँमा प्रयोग गर्ने वातावरणका लागि सरकार लाग्नुपर्ने बताए । उनले कर्णालीमा जातीय विभेदका घटनाहरू धेरै हुने भएकाले सामाजिक जागरण र रूपान्तरणका कार्यक्रम पनि सञ्चालन गर्न सरकारलाई सुझाव दिए ।

Translate »