देशैभर चिसो बढ्यो, सतर्कता अपनाउन अनुरोध

पुस १०, काठमाडौं । पछिल्ला दिनमा राजधानी काठमाडौं उपत्यकासहित देशैभर चिसो बढिरहेको छ । दिउँसोपख मधुरो घाम लागे पनि अधिकतम र न्यूनतम तापक्रममा फेरबदल भइरहेकाले चिसो अझै बढ्नसक्ने विज्ञले औंल्याएका छन् । गत एकसातामा न्यूनतम तापक्रम घटे पनि घाम लागेकाले तुलनात्मकरुपमा कम चिसो महशुस हुँदा दुई दिनयता राजधानीसहित देशभर बढी चिसो महशुस गरिएको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणमा एकसाताको अवधिमा न्यूनतम दुईदेखि चार डिग्रि र अधिकतम तापक्रम १६, १८ तथा २० हाराहारी थियो । शनिवार काठमाडौँको न्यूनतम ४ दशमलव ४ र अधिकतम १८ डिग्रि सेल्सियस रहेको छ ।

अबका दिनमा मौसम फेरबदल भइरहने छ । अझै चिसो बढ्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन मौसमविद् शान्ति कँडेलले बताइन् । उनका अनुसार अबका दिनमा मौसम फेरबदल भइरहन्छ, हल्का वर्षा र हिमपातको सम्भावना रहन्छ। अधिकतम तापक्रम एक/ दुई डिग्रि सेल्सियस बढे पनि न्यूनतम तापक्रम घट्ने र बदलीसँगै घाम कमजोर हुने हुनाले चिसो क्रमशः बढ्ने देखिन्छ, तापक्रम माइनस पुग्छ पुग्दैन अहिले भनिहाल्ने अवस्था छैन ।

उनका अनुसार अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उच्च पहाडी भेगमा हल्का हिमपात र एक÷दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्ने गरेको छ । महाशाखाको विवरणमा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको छ । प्रदेश नं १ र बाग्मती प्रदेशको पहाडी भू–भागका एक/ दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यस्तै सुदूरपश्चिम प्रदेश तथा अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु तथा कुहिरो लाग्नुका साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा/ सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।  रासस

Translate »