छिन् भरमै बनाइ छाड्यो चिसो खरानी

-उमालाल आचार्य

खरानी
अहंकारको बलमा बलेको आगोले
पटकपटक उछिट्टिएर
दाउरा मुढा जोर्ने आफन्तीहरुको
आत्मा सम्मानमा पोल्यो
कुइरीमण्डल अनावश्यक पुत्ताएर
आँखामा पसेको पिरो धुवाँले
सबैलाई रुवायो टाढा भगायो ।

स्वार्थमा धेरै खरानी घस्न आएका
अन्धभक्त नयाँ जोगिहरुले घिउ थपे
दनदनी बल्यो झनझन माथि उठ्यो
उन्मादमा भर्भराउँदै करायो
लप्का लप्कामा उचालिएर
छानो छोयो जलायो उदाङ्गो बनायो ।

ती दिनमा डढेलो लागेर
आगोले सारा वन जलायो
बस्तीहरुमा पसेर धन जलायो
अनगिन्ती निमुखाको तन जलायो
पीरमा बाँच्नेहरुको मन जलायो ।

आगोले खाएको वनमा
फेरि नयाँ पालुवा पलाउँछ
भविष्य हरियाली बनाउँछ
भनी मन बुझाउने अभागीहरुको
वर्तमान कालो अंगार बनायो
विनाशी आगाले आफ्नो जात जनायो ।

तनाव बास बसिरहँदा मगजमा
एकाएक बादल मडारियो क्षितिजमा
रात झैं अन्धकार बनायो बिहानी
प्रतिस्पर्धामा झर्‍यो असिना र पानी
छानो बिना पानी तर्कन्थ्यो कसरी
आगाको शेखी झारेर भकुर्‍यो बेसरी

अहम छोडेर सोचाइ उति टाढा गएन
आगो निभाउँछ पानीले
भन्ने सामान्य हेक्का पनि रहेन
ठूलो वर्गीय दुश्मन पो रहेछ पानी
ज्वलन्त आगाको अस्तित्व मेटाएर
छिन् भरमै बनाइ छाड्यो चिसो खरानी ।

(आचार्य प्रसिद्ध रंगकर्मी हुन् )

 

Translate »