न्यायिक समितिमा उजुरी घट्दो

मंसिर २९,जुम्ला । जिल्लाको स्थानीय तहका न्यायिक समितिमा उजुरी कम पर्ने गरेको छ । न्याय निरूपणका लागि स्थानीय तहमा न्यायिक समितिको व्यवस्था भए पनि न्याय सम्पादन प्रभावकारी हुन नसक्दा उजुरीमा कमी आएको बताइएको छ, जसकारण अधिकांश सर्वसाधारण प्रहरी चौकीमै उजुरी दिने गर्छन् । जिल्लाका आठओटै स्थानीय तहमा उपाध्यक्षको संयोजकत्वमा न्यायिक समिति छ ।

जिलाको गुठिचौर गाउँपालिकामा अहिलेसम्म ५९ उजुरी परे । गत आर्थिक वर्षमा ४१ उजरी परेकोमा यो वर्ष १८ उजुरी परेका छन् । यी सबै घरेलु हिंसा, झैझगडा र कुटपिटका उजुरी हुन् । यी उजुरी हेर्न स्थानीय तहमा न्यायिक समिति छ । तर न्यायिक समितिको विश्वास नमानेर प्रहरीकोमा उजुरी दिन जाने गरिएको सो गाउँपालिकाको झारज्वालामा रहेको प्रहरी चौकीका सहायक निरीक्षक कमलकुमार श्रेष्ठले बताए ।

प्रहरी चौकीमा समाधान गर्न सकिने उजुरी उपर चौकीमै कारबाही हुने गरेको छ । जटिल खालका उजुरी आएपछि जिल्ला प्रहरी कार्यालय पठाइन्छ । चेतनाको विकास भएसँगै हिंसाका घटना बाहिर आउन थालेको प्रहरीले बताएको छ ।

गुठिचौर गाउँपालिका उपाध्यक्ष तथा न्यायिक समितिका संयोजक जानदेवी ऐडीका अनुसार न्यायिक समितिमा उजुरी निकै कम पर्ने गरेको बताए । ‘पहिलेदेखि उजुरी प्रहरीकोमा दिने बानी परेकाले स्थानीयवासी अहिले पनि प्रहरीमै उजुरी दिने गरेका छन्,’ उनले भने ।

गाउँपालिकामा आउने उजुरीको समाधान छलफलका माध्यमबाट गरिँदै आएको छ । पछिल्लो समय घरेलु हिंसाको घटना बढ्दै जानुमा वैदेशिक रोजगारी मुख्य समस्याको रूपमा देखापरेको गाउँपालिका न्यायिक समितिका संयोजक ऐडीले बताए । अधिकांश स्थानीय तहमा उजुरी उपर छलफल गर्नको लागि आफ्नो इजलास बनेको छैन । न्यायिक कर्मचारी नहुँदा काम गर्न समस्या भएको स्थानीय तहका न्यायिक समितिका संयोजक बताउँछन् । रासस

Translate »