सुर्खेतमा कर्मचारी सञ्चय कोषको आवास कर्जा क्षेत्र कार्यक्रम विस्तार

स्काई न्यूज / मंसिर २१, सुर्खेत । सुर्खेतमा कर्मचारी सञ्चय कोषले आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरेको छ । सुर्खेत कर्णाली प्रदेशको राजधानी बनेसँगै घर बनाउनेहरुको संख्यामा बृद्धि भएपछि कोषले आफ्ना सेवाग्राहीको मागलाई ध्यानमा राख्दै आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरेको हो । कोषका अनुसार यसअघि रत्न राजमार्गको दुबै तर्फ १ किलोमिटर, वीरेन्द्रनगरको मंगलगढी चोकदेखि बाङ्गेसीमलसम्मको १ किलोमिटर दायाँ बायाँ, धमलाचोकदेखि दैलेख सडकको पानीटंकीसम्मको दायाँ बायाँ ५ सय मिटर, लाटिकोइली सडकहुँदै शिव मन्दिरसम्मको दायाँ बायाँ ५ सय मिटर, मंगलगढी चोकदेखि लाटीकोइलीसम्मको मुलबाटो वरपर १ किलोमिटरसँगै रत्नराजमार्गको मूलपानी चोकदेखि भुरीगाउँ जाने मूल सडकमा पर्ने फलाटे चोकसम्मको दायाँ बायाँ ५ सय मिटर क्षेत्रमा मात्र सीमित रहेको थियो ।

तर, सुर्खेत प्रदेश राजधानी बनेपछि कोषका (सेवाग्राही) सञ्चयकर्ताले वीरेन्द्रनगर रिङ्ग रोड वरिपरिका क्षेत्रमा समेत आवास कर्जा कार्यक्रम विस्तार गर्न माग गरेपछि कोषले घरसापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, र जग्गा खरिद सापटी प्रयोजनार्थका लागि क्षेत्र विस्तार गरेको हो । कोष सुर्खेतका प्रमुख रामप्रसाद लामिछानेले नेपाल निजामति कर्मचारी यूनियन (संघ), नेपाल निजामति कर्मचारी संगठनलगायतका संघ संस्थाको मागलाई समेत ध्यानमा राख्दै आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरिएको बताए । उनले अब धुलियाविट चोकदेखि बाङ्गेसीमल खारखोलाको पुलसम्म, रत्न राजमार्गको दायाँ, बाँया २ किलोमिटरसँगै प्रस्तावित रिङ्गरोड भित्रको क्षेत्रहरु, धुलियाविट चोक, सुब्बाकुना अमृतडाँडा रोड हुँदै चौखेढुङ्गा, मनिकापुरदेखि रहरपुर चोकसम्मको मुलसडकको दायाँ बायाँसँगै उक्त सडकलाई छोएको मापदण्ड पुगेका क्षेत्र र दायाँतर्फ रत्नराजमार्गसम्मको क्षेत्र, रहरपुर चोकदेखि दायाँ बायाँ पर्सेनीरोड हुँदै पाताल दरबार जाने पुलबाट खोलीगाउँ माछा पोखरी हुँदै भुरीगाउँ–तेलपानी सडकको फलाटेसम्मको दायाँ बायाँ मुल सडकलाई छोएको मापदण्ड पुगेका क्षेत्रमा कर्जा विस्तार गरिने जानकारी दिए ।

उनका अनुसार कोषको केन्द्रीय कार्यालयले मंसिर २० गते गरेको निर्णयलाई सञ्चयकर्ता सापर्टी कार्यविधि २०७३ अनुसार माथि उल्लेखित क्षेत्रमा आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार गरिएको हो । उनले आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार भएका स्थानको मंगलबार स्थलगत भ्रमण तथा अनुगमन समेत गरिएको बताए । यता नेपाल निजामति कर्मचारी यूनियन (संघ) का केन्द्रीय उपाध्यक्ष नृपजंग शाहीले कर्णालीका सञ्चयकर्ताले माग गर्दै आईरहेको आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तारले धेरै कर्मचारीलाई सुर्खेतमा घर बनाउन सहजता हुने विश्वास व्यक्त गरे । उनले आवास कर्जा कार्यक्रम सुर्खेतमा मात्र सीमित नराखेर कर्णालीका दश वटै जिल्लामा क्षेत्र विस्तार गर्न माग राखें ।

‘कर्मचारी सञ्चय कोषले नेपाल निजामति कर्मचारी यूनियन (संघ) का मागलाई शुरुदेखि नै उच्च मूल्यांकन गर्दै आईरहेको छ,’ उनले भने, ‘कोषको लक्ष्य नै आफ्ना सेवाग्राही (सञ्चयकर्ता) को सर्वोपरी हितलाई ध्यानमा राख्दै घरसापटी, शैक्षिक सापटी, घर मर्मत सापटी, र जग्गा खरिद सापटी कार्यक्रम कर्णाली प्रदेशका दश वटै जिल्लामा विस्तार गर्नु पर्छ ।’ उनले कर्णालीका कर्मचारीहरुको हितलाई ध्यानमा राखेर यूनियनले विभिन्न समयमा विभिन्न फोरमबाट कोषसँग दवावमूलक मागहरु राख्दै आईरहेको परिणाम स्वरुप वीरेन्द्रनगरमा आवास कर्जा कार्यक्रमको क्षेत्र विस्तार भएको दावी गरे ।  कर्णालीका कर्मचारीको हक, हित र अधिकारका लागि यूनियन हरेक स्तरबाट समन्वय र सहकार्य गर्न तयार रहेको उनको भनाइ थियो ।

Translate »