घरको शान्त वातावरण र सुन्दरतामा सहयोगी एक्वारियम

काठमाडौं । मानिस स्वाभावैले सौखिन प्राणी हो । विभिन्न जनावर, चराचुरुंगी आदि पाल्ने, रुखबिरुवा रोप्ने, कलाकृतिका सामग्री र पोस्टरलगायत विविध सजावटका सामग्रीले घरका विभिन्न भाग सजाउने मानिसका सौख हुन् । यसले मानिसलाई आनन्दानुभूति गराउँछ । हृदय प्रफुल्ल बनाउँछ र शरीरमा एक खाले स्फुर्ति (ऊर्जा) जगाउँछ । यसले कार्यमा सशक्तीकरण ल्याउँछ । सफल जीवनका लागि खुसी र आवश्यक ऊर्जा थप्ने कार्यमा यसले महत्वपूर्ण भूमिका खेलेको हुन्छ ।

सोखकै उपज हो, एक्वारियम । एक्वारियम सौखको रूपमा राखिए पनि यसको महत्व, विशेषता, फाइदा, बेफाइदा आदिबारे जानकारी हुनु आवश्यक छ । कुनै पनि विषयवस्तुको ज्ञानसँगै त्यसको प्रयोगले थप हौसला बढाउनमा सहयोग पुर्‍याउँछ । यसै कुरालाई दृष्टिगत गरेर एक्वारियमको विशेषतालाई खोतल्ने जमर्को गरिएको छ ।

एक्वारियम के हो ? यसको जवाफ सहज छ । यो एउटा पानी राख्न मिल्ने पारदर्शी भाँडो हो, जसमा जलचर जस्तैः माछा, कछुवा, सरिसृप र जलीय बोटबिरुवा प्रदर्शित गरिन्छ । विविध कलात्मक (प्राकृतिक एवं कृतिम) सजाइएका एक्वारियम र त्यसमा हुने विभिन्न आकर्षक जलीय जीवजन्तु अनि बिरुवाले जोकोहीलाई लोभ्याउँछ ।

एक्वारियम विशेषतः ग्लास र एक्रेलिकबाट बनाइन्छ । यसमा पानी सफा गर्न पम्प र उज्यालो लाइट जडान गरिएको हुन्छ । त्यसैगरी अझ बढी आकर्षक र सुन्दर देखाउन कलाकृतिका सजावटका वस्तु, विभिन्न रंगका बालुवा, ढुंगा र प्राकृतिक, कृतिम बोटबिरुवाले सजाउने गरिन्छ । बोटबिरुवाले जीवजन्तुलाई अक्सिजन दिने कार्यमा सहयोग गर्नुका साथै सुन्दरता थप्ने काम गर्दछ । यी एक्वारियम आर्थिक हिसाबले केही महँगा भने हुन्छन् । त्यसको विकल्पको रूपमा सानो बोल आकारका भाँडो पनि प्रयोगमा रहेको छ । यो वास्तविक एक्वारियमभन्दा सस्तो पर्ने र सानो क्षेत्रमा प्रयोग गर्न सकिने हुन्छ ।

एक्वारियममा राखिने माछाका प्रजाति
एक्वारियममा राखिने माछाका प्रजातिमा मुख्य गरी एरोना, चिचिल्ड, स्विपर, एन्जेल, प्लेट्टी जेब्रा, बारब, टेरोरर, टेक्सास, कार्प, सार्प, मुर, स्वर्डटेल, ओस्कार, पिराना, विन्डी, मुली, कोमेट, कोई, सृम्प, ओरान्डा, गोल्डफिस, गप्पी, सकर आदि प्रमुख छन् । यी प्रजातिभित्र विभिन्न थरीका उपप्रजाति हुन्छन् । यिनीहरुको प्रजाति एउटै हुने भए पनि रंग र शरीरमा हुने फरकले हेर्दा नयाँजस्तो लाग्छ । उपप्रजाति धेरै हुने भएकै कारण माछा धेरै थरी भएजस्तो देखिन गएको हो ।

माछाका लागि छुट्टै विशेष भिटामिनयुक्त तयारी खाना हुन्छ । विशेषगरी माछाका लागि सुक्खा खाना हुन्छन् । बजारमा उपलब्ध खानाबाहेक अन्य खाना सम्भव छैन । साथै, माछा बिरामी भए उपचारका लागि औषधीसमेत खरिद सकिन्छ र आवश्यकताअनुसार त्यसको प्रयोग गर्न सकिन्छ ।

एक्वारियमको पानी समय–समय सफा गर्नुपर्दछ । पानी सफा गर्ने फिल्टर राखिए पनि ३ वा ४ सातामा सफा गर्नु उत्तम मानिन्छ ।

एक्वारियममा राखिने बोटबिरुवा
केही बोटबिरुवा यस्ता छन्, जो पानीमा मात्र हुर्कन सक्छन् । यिनले पानीमा अक्सिजनको मात्रा उत्पादन गर्नमा ठूलो भूमिका वहन गरेका हुन्छन् । तिनका प्रमुख प्रजातिमा जाभा फेम, क्रिप्टो, रोटाला, बोन्साई,  पियरविद, इरेक्टस, रोटाला, भ्यालिसनेरिया, मनिओर्ट, अनुबिया नाना, म्यारिमो मोस बल, एमाजो स्वर्ड, क्रिप्टोकोरिन विन्डिटी, एपोनोजेटोन क्रिस्पस, त्रिस्टमस मोस  आदि छन् ।

यसको विकल्पमा कृतिम बोटबिरुवा प्रयोग गर्ने प्रचलन बढिरहेको छ ।

एक्वारियममा प्रयोग गरिने सामग्री
एक्वारियम आकर्षक बनाउन विभिन्न सामग्री प्रयोग गरिन्छ । एक्वारियमलाई बाहिरी भागमा भन्दा भित्री भागमा बढी खर्च गर्नुपर्ने हुन्छ । भित्री भाग सजाउन विभिन्न सामग्री जस्तैः हिटर, पम्प, कन्डिसनर, बालुवा, ढुंगा, लाइट, कृतिम वा प्राकृतिक बोटबिरुवा, विभिन्न कलात्मक मूर्ति वा आकृति आदि प्रयोग गरिन्छ । साथै, ग्लास सफा गर्न क्लिनर आवश्यक पर्दछ ।

घरमा एक्वारियम राख्दाका फाइदा
एक्वारियमको विकास र यसको प्रयोग सौखिनबाटै भएको हो । सौखले मानिसमा रचनात्मक, कलात्मक कार्य गर्न उत्सुक बनाउँछ । यही उत्सुकताको प्रतिफलस्वरूप रचना गरिएको एक्वारियम अचेल सजावट र सुन्दरताको सामग्री बन्न पुगेको छ । यसैकारण घरमा एक्वारियम राख्नाले रचनात्मक कार्य गर्न हौसला मिल्छ भन्ने प्रचलन रहेको छ । यसको प्रयोगले विभिन्न फाइदा रहेको कुरा अवगत हुन्छ । जस्तैः परिवारमा शान्त वातावरण रहनमा सहयोगी भूमिका वहन गरेको हुन्छ । प्रकृतिप्रति प्रेमभाव जागृत गराउँछ र जिम्मेवार बन्न सिकाउँछ । वास्तुशास्त्रको मान्यताअनुसार एक्वारियम भाग्य वृद्धि र समृद्धिको प्रतीक मानिन्छ । त्यति मात्र होइन, एक्वारियम हुनु भनेको स्वास्थ्यको लागिसमेत फाइदाजनक देखिन्छ । तनाव कम गर्ने, रक्तचाप कम गर्ने, निद्रा लाग्ने, आनन्दानुभूति गराउनु, बच्चामा शिक्षाप्रति जागरुक गराउने, एकत्रित हुन र शान्त राख्नेजस्ता अनेक फाइदा हुन्छन् ।

अन्त्यमा के भन्न सकिन्छ भने एक्वारियम एक सौखिन वस्तु हो । यसको प्रयोग विशेषगरी घरमा सुन्दरता थप्न र आकर्षक सजावटका लागि उपयोग हुन्छ । (आर्थिक अभियान)

Translate »