सुर्खेतमा फोटोसहितको मतदाता नामावली संकलन कार्य तीव्र पारिँदै

स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले कर्णालीको सुर्खेतबाट तयारी शुरु गर्यो

स्काई न्यूज /मंसिर १३, सुर्खेत । प्रदेश निर्वाचन कार्यालय सुर्खेतले स्थानीय तहको निर्वाचन तयारीका लागि फोटोसहितको मतदाता नामावली संकलन कार्य तीव्र पार्ने भएको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनलाई लक्षित पारेर कर्णालीको सुर्खेतबाट तयारी शुरु गर्न लागेको हो । प्रदेश कार्यालयले सोमबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरेको फोटोसहितको मतदाता नामावली संकलन विशेष कार्यक्रम २०७८ का सम्बन्धमा सरोकारवालालाई हाल जिल्ला र ईलाका प्रशासन कार्यालयबाट भईरहेको सेवालाई थप विस्तार गर्दै सबै पालिका स्तरबाट समेत मतदाता संकलन कार्य शुरु गर्न लागिएको जानकारी दिएको छ ।

कार्यक्रममा प्रदेश निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले सुर्खेतका नौ वटै स्थानीय तहमा फोटोसहितको मतदाता नामावली संकलन कार्यलाई प्रचार–प्रसारसँगै व्यापकरुप बनाउन लागिएको बताए । उनले जिल्ला स्तरीय कार्यक्रम व्यवस्थापन तथा अनुगमन समिति, पालिका स्तरीय स्थानीय सहयोग समन्वय तथा प्रचार–प्रसार समिति एवं जिल्ला तथा प्रदेश स्तरबाट नयाँ मतदाता नामावली संकलन, त्रुटी सच्चाउने, र नामावली सार्ने कार्यलाई तीव्रता दिन लागिएको जनाए । उनका अनुसार पहिलो चरणमा सुर्खेतका लेखबेशी नगरपालिका, सिम्ता गाउँपालिका, चिङगाड गाउँपालिका र चौकुने गाउँपालिकामा मंसिर १७ देखि पुस २ गते सम्म फोटोसहितको मतदाता नामावली संकलन गर्न लागिएको छ ।

दोस्रोचरणमा जिल्लाका गुर्भाकोट नगरपालिका, भेरीगंगानगरपालिका र बराहताल गाउँपालिकामा पुस ४ गतेदेखि १८ गतेसम्म फोटोसहितको मतदाता नामावली संकलन गर्न लागिएको उनको भनाइ छ । उनले सदरमुकाम वीरेन्द्रनगरमा जिल्ला प्रशासन कार्यालयसँगै पञ्चपुरी नगरपालिकामा ईलाका प्रशासन कार्यालय बाबियाचौरबाट समेत फोटोसहितको मतदाता नामावली संकलन कार्य भईरहेको बताए ।

कार्यक्रममा सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले फोटोसहितको मतदाता नामावली कार्यलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न सबै स्थानीय तहका जनप्रतिनिधिसँगै राजनीति दलका प्रमुख तथा प्रतिनिधिसँग आग्रह गरे । उनले स्थानीय तहको निर्वाचन तोकिएकै समयमा हुने भएकाले जिल्लामा मतदाता संकलन कार्यदेखि सुरक्षासँगै आवश्यक सामाग्रीको व्यवस्था पूर्व तयारी गर्न लागिएको बताए । कार्यक्रममा जिल्ला स्तरीय कार्यक्रम व्यवस्थापन तथा अनुगमन समितिका पदाधिकारी, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, प्रमुख प्रशासकीय अकिृत, निर्वाचन सम्पर्क व्यक्तिहरु, एवं जिल्लास्थित सक्रिय राजनीति दलका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

Translate »