‘प्रचलित कानून कार्यान्वयनमा अझै समस्या’

स्काई न्यूज / मंसिर १०, सुर्खेत । कर्णालीमा प्रचलित कानून अपराध संहिताको कार्यान्वयनमा अझैपनि समस्या देखिएको सरोकारवालाले बताएका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालय सुर्खेतले शुक्रबार वीरेन्द्रनगरमा आयोजना गरेको प्रचलित कानून कार्यान्वयन चुनौती र समाधान विषयक एक दिवसीय अन्तरक्रिया कार्यक्रमका सहभागीले प्रहरीमा न्यून जनशक्ति, बालसुधार गृहको अभाव, पुर्नस्थापना केन्द्रको अभावलगायतले अपराध संहिता कार्यान्वयनमा समस्या रहेको बताएका हुन् ।

कार्यक्रममा उच्च अदालत सुर्खेतका मुख्य न्यायाधिश शेषराज सिवाकोटीले न्याय सम्पादनका लागि प्रहरी, अदालत, सरकारी वकिल र वार एसोशिएशनको भूमिका महत्वपूर्ण रहेको बताए । उनले दवाव समूहको स्वार्थका कारण पटक–पटक फौजदारी कानून परिवर्तन हुँदा पत्रकारदेखि विभिन्न क्षेत्रका पेशाकर्मीले समेत समस्या भोग्नुपर्ने बाध्यता हटाउन आवश्यक रहेको औल्याए ।

महान्यायधिवक्ताको कार्यालयका नायव महान्यायधिवक्ता पदमप्रसाद पाण्डे, कर्णाली प्रदेशका मुख्य महान्यायाधिवक्ता धुव्रकुमार श्रेष्ठ, उच्च अदालत सुर्खेत वार एसोशिएशनका अध्यक्ष उत्तम आचार्यले कुनैपनि मुद्धाको जाहिरीमाथि अनुसन्धान तथा तहकीकात गर्दा पक्ष र विपक्ष दुबैमाथि निष्पक्षता कायम राख्दै दोषीलाई कार्वाही र पीडितलाई न्याय दिनुपर्नेमा जोड दिए ।

उनीहरुले कानून कार्यान्वयन गर्दा क्षतिपूर्तितर्फ अनुसन्धान केन्द्रित भई सोही अनुसार अभियोजन भएमा न्याय निरुपण गर्न सहज हुने बताए । त्यस्तै मुख्य न्यायाधिवक्ता कार्यालय सुर्खेतका प्रमुख द्रोणदत्त पौडेलले प्रचलित कानून अपराध संहिता कानून कार्यान्वयनमा देखिएका समस्यालाई मुख्य न्यायाधिवक्ताद्वारा पेश गरिने वार्षिक प्रतिवेदनमा उल्लेख गरिने जनाए । उहाँले अन्तरक्रिया कार्यक्रममा कर्णाली प्रदेशका दश वटै जिल्लाका सरकारी वकीलहरु, प्रहरी अनुसन्धान अधिकारीहरुलगायत सरोकारवालाको सहभागिता रहेको बताए ।

Translate »