प्रचण्डलाई चुनौती दिँदै ओलीले भने, ‘झापामा माओवादीको महाधिवेशन गर्नुस् न ! ’

मंसिर ७, काठमाडौं  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रको महाधिवेशन झापामा गर्न उक्त पार्टीका अध्यक्ष प्रचण्डलाई चुनौती दिएका छन् । मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रको महाधिवेशन झापामा गर्न प्रचण्डलाई चुनौती दिएका हुन् ।

यसअघि प्रचण्डले आफूलाई सिध्याउनका लागि एमालेले चितवनमा अधिवेशन गर्न लागेको बताएका थिए । सो बारेमा ओलीले भने, ‘चुनाव लड्यो भन्दैमा जिल्ला पुरै हुँदैन । उहाँ रोल्पाबाट लड्नु भयो रोल्पामा नगर्ने, काठमाडौंबाट लड्नु भयो । काठमाडौंमा नगर्ने र सिराहाबाट लड्नु भयो त्यहाँ नगर्ने । उहाँले झापामा आएर पार्टीको महाधिवेशन गर्नुहोस् न ।’

ओलीले आफू डा. भीम रावलको स्नेहपूर्ण सुझावबाट प्रभावित भएको बताए । उनले भने, ‘रावल कमरेडको मैले अध्यक्ष नउठेर विश्राम लिए हुन्थ्यो भन्ने सुझाव छ । एमाले लोकतान्त्रिक पार्टी हो । यसमा कुनै प्रकारको तलमाथि हुँदैन । मेरो विरुद्धमा उठ्छु भनेर कसैले भन्छ भने, मैले उठ्ने टुँगो गरें भने मलाई निर्विरोध छोड्न पनि पाइन्छ । चुनौती दिन पनि पाइन्छ । म यसलाई नराम्रो भन्दिन् । लोकतन्त्रमा चूनौति स्वभाविक कुरा हो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । तपाई नउठ्दिए हुन्थ्यो भन्दिन् ।’

उनले पार्टीभित्र समझदारी र सहमति र एकता बहुतै महत्वपूर्ण कुरा भएको सुनाए ।

Translate »