अतिक्रमणले साँघुरिँदै सडक

सागर परियार / मंसिर ७,जुम्ला ।
कर्णाली राजमार्गका विभिन्न स्थानमा मनपरीरुपमा घर,टहरा निर्माण गरिँदा र सडक छेउमै अव्यवस्थित रुपमा गिट्टी,बालुवा र ढुंगा लगायतका निर्माण सामाग्री राखिँदा सडक साँघुरिएको छ ।

राजमार्ग अन्तर्गत जुम्लाको रारालिही बजार,त्रिवेणी,कुडारी,लिताकोट,तातोपानी,एैरेनी,लाम्रा,उम्गाड र बसपार्क क्षेत्रमा सडक अतिक्रमण बढेको हो ।

कर्णाली राजमार्ग कालोपत्रे भएसँगै सडक अतिक्रमण पनि ह्वात्तै बढेको स्थानीयहरू बताउँछन् ।
सडक डिभिजन जुम्लाले पटक पटक सार्वजनिक सम्पत्ति तथा सडक अतिक्रमण नगर्न अनुरोध गरे पनि सडकमा स्थानीयको मनपरी रोकिएको छैन । कर्णाली राजमार्ग कालोपत्रे भएपश्चात् सडक अतिक्रमण गरेरै जुम्ला खण्डमा दर्जनौँ घर टहरा निर्माण भएको स्थानीयहरू बताउँछन् ।
अतिक्रमणले एकातिर सडक साँघुरिँदै गएको त छदै छ, अर्कोतिर दुर्घटनाको जोखिमसमेत बढेको छ ।

जुम्लाको बसपार्क क्षेत्र र तातोपानी पर्यटन क्षेत्रमा सडक अतिक्रमण धेरै छ । तातोपानी २ का स्थानीय रुद्रसिंह मल्लले भने,“सडक व्यवस्थापनभन्दा पनि हरेक व्यक्ति आफ्नो स्वार्थका लागि सामाजिक हित बिर्सेर अघि बढेका छन् । वडा पालिका र सडक डिभिजनसँग समन्वय नगरी राजमार्गलाई असर पर्ने गतिविधि गर्नेलाई कारबाही गरिनु पर्छ ।”

अतिक्रमणका कारण अधिंकास स्थानका सडकमा नाली नै नदेखिने अवस्था छ । अतिक्रमणकै कारण सडक डिभिजनले लगाएको चिन्ह नै देख्न मुश्किल हुने अवस्था छ । सडक फराकिलो तथा सुरक्षित बनाउनका लागि सूचना टाँस गरेर अनुरोध गर्नुभन्दा पनि सडक डिभिजन,प्रहरी प्रशासन अतिक्रमण गर्ने विरुद्ध आक्रामक बन्न स्थानीयको माग छ ।
सडक सुरक्षा अभियान सुरु
यसैबीच सडक डिभिजन जुम्लाले सडक सुरक्षा अभियान थालेको छ । कर्णाली राजमार्गको विभिन्न खण्डमा सडक अतिक्रमण बढ्न थालेपछि “सडक सबैको साँझा सम्पत्ति हो,यसको संरक्षणमा सबै एकजुट भई लागौँ” भन्ने नाराका साथ सडक सुरक्षा अभियान थालिएको हो । सडक संरचनाभित्र स्थानीयले मनपरी रुपमा निर्माण सामाग्री फाल्ने,घर टहरा निर्माण गरेको पाइएकोले खाली गर्न पहिलो चरणमा सूचना टाँस गरिएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताए।

उनले भने,“सवारी साधन आवतजावतमा बाधा पुग्ने,सार्वजनिक हित विपरीत राखिएका निर्माण सामाग्री हटाउन अनुरोध गरेका छौ । सडक सुरक्षा अभियान चलाएर पहिलो चरणमा मौखिक अनुरोध पनि गरेका छौ । सात दिन भित्र सडकको सीमा खाली नभए प्रक्रियामा जान्छौ ।” पहिलो चरणमा जुम्ला सदरमुकामको बसर्पाक क्षेत्रमा सुरक्षाकर्मी र सडक डिभिजनको अगुवाइमा सडक सुरक्षा अभियान चलाइएको छ ।
सात दिनभित्र सडक खाली नभए कार्यालयले आफ्नै तरिकाले हटाउने र त्यसबाट पर्न जाने क्षति प्रति कार्यालय जबाफदेही नहुने समेत चेतावनी दिइएको छ । साथै संरचना हटाउँदा लाग्ने खर्च समेत सार्वजनिक सडक ऐन २०३१ को दफा १९ ९३० बमोजिम सम्बन्धित व्यक्तिबाटै असुल उपरगरीने कार्यालयले जनाएको छ ।

दुर्घटनाको जोखिम बढ्दै
अतिक्रमणले सडक साँघुरिँदै गएपछि दुर्घटनाको जोखिम बढेको छ । बसपार्क क्षेत्र र तातोपानी पर्यटन क्षेत्रमा सडक साँघुरो भएपछि दुर्घटनाको जोखिम बढेको हो । दैनिक सवारी चाप हुने बसपार्क र तातोपानी लगायतका स्थानमा स्थानीयको लापरबाही र सवारी चालकहरूले मनपरी पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको तातोपानी पर्यटन विकास केन्द्रका अध्यक्ष नवराज बुढाले बताए।
उनले भने,“तातोपानी क्षेत्रमा सवारी चाप धेरै छ । पार्किङ व्यवस्थापन हुन सकेको छैन । सार्वजनिक सम्पत्ति संरक्षणमा नागरिक जिम्मेवार छैनन् । त्यसैले सडक सुरक्षा अभियान गाउँ केन्द्रित बनाउनु पर्छ ।”

सडक डिभिजनका प्रमुख राजिव श्रेष्ठ पनि सडक अतिक्रमणका कारण दुर्घटना बढेको बताए । उनले भने ,“सडक सुरक्षा अभियान बजार हुँदै गाउँसम्म पुग्छ । दुर्घटनाको जोखिम हटाउन पनि अतिक्रमण हटाउन आवश्यक छ ।” सडक अतिक्रमणका कारण कर्णाली राजमार्गमा एक गाडीले अर्को गाडीलाई साइट दिनसमेत समस्या भइरहेको चालकहरू बताउँछन् । सडक साँघुरोहुँदा दुर्घटनाको जोखिम बढेको उनीहरुको् गुनासो छ । सडक अतिक्रमणलाई रोकी सडक सुरक्षा अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्ने नागरिक अगुवाहरूको माग छ ।

Translate »