सल्यानको कुपिण्डे तालमा पहिलो पटक र्‍याप्टिङ सञ्चालन

 दीपक शर्मा  / मंसिर ६,सल्यान । नेपालका एक सय पर्यटकीय स्थल मध्येको सल्यानको कुपिण्डे तालमा पहिलो पटक र्‍याप्टिङ सञ्चालनमा ल्याइएको छ ।

पर्यटन प्रवर्द्धनलाई टेवा पुर्‍याउने उद्देश्यका साथ डिभिजन वन कार्यालय सल्यानको आर्थिक सहयोगमा बनगाड कुपिण्डे नगरपालिकालाई तीन वटा र्‍याप्टिङ हस्तान्तरण गरेको छ । यसअघि तालमा काठका परम्परागत डुङ्गा सञ्चालन रहेकोमा पहिलो पटक र्‍याप्टिङ बोट सञ्चालनमा ल्याइएको हो ।

आधुनिक डुङ्गा सञ्चालनमा ल्याएपछि तालमा आउने आन्तरिक तथा बाह्र पर्यटकको सङ्ख्यामा वृद्धि आउने अपेक्षा गरिएको डिभिजन वन कार्यालय सल्यानका डिभिजन वन प्रमुख रमेश गिरीले बताए । उक्त डुङ्गामा बसेर छिटो र कम जोखिम पूर्ण रुपमा तालमा सयर गर्न सकिने उनको भनाई छ ।

कुपिण्डेतालको पर्यापर्यटनको टेवा पुग्नुका साथै स्थानीय समुदायको रोजगारी र जीविकोपार्जनमा समेत योगदान पुर्‍याउने गिरीको भनाई छ । अन्य डुङ्गामा भन्दा यसमा जोखिम कम भएको र वातावरणीय हिसाबले पनि ठिक भएको उनको भनाई छ ।

५० लाखको लागतमा ३ वटा र्‍याप्टिङ र्बोट, ३ गाइड ज्याकेट, ३ लाइफ ज्याकेट २६, पम्प ३, सेफ हाउस १, गाइड प्याडल, ३, प्याडल २६, हेल्मेट २६ लगायतका सामाग्री खरिद गरी नगरपालिकालाई हस्तान्तरण गरिएको छ । कुपिण्डे तालको विकासका लागि गुरुयोजना बनाई रहेको गिरीले बताए ।

मिनि राराको रुपमा समेत परिचित कुपिण्डे तालको विकास र यसको संरक्षण तर्फ ध्यान दिन जरुरी रहेको बनगाड कुपिण्डे नगरपालिका उपमेयर मन्जु यरीले बताए । कुपिण्डे ताल सल्यानको मात्र नभएर कर्णाली प्रदेशकै गहना भएकाले आन्तरिक तथा बाह्र पर्यटकको विकास गर्न सके आर्थिक रुपमा प्रदेश नै सबल र सक्षम बन्न सक्ने बताए।

Translate »