कर्णालीमा घरजग्गाको मूल्यवृद्धि सबै भन्दा बढी

मंसिर ४, काठमाडौं । घरजग्गाको मूल्यवृद्धि देशैभरमा सबैभन्दा बढी कर्णाली प्रदेशमा भएको एक अध्ययनले देखाएको छ । नेपाल राष्ट्र बैंकले गरेको अध्ययनले संघीय राजधानी रहेको वाग्मतीभन्दा कर्णालीमा घरजग्गाको मूल्यवृद्धि बढी भएको देखाएको हो ।

जुन अध्ययन शुक्रबार सार्वजनिक गरिएको छ। मालपोत कारोबारको आधारमा आव २०७७/७८ को पहिलो नौ महिनामा कर्णालीमा घरजग्गाको मूल्य औसत २३.८८ प्रतिशतले बढ्दा वाग्मती प्रदेशमा ५.९५ प्रतिशतले बढेको उक्त अध्ययनमा उल्लेख छ ।

यद्यपि उक्त अध्ययन सातवटा प्रदेशबाट दुई/दुई जिल्ला छनोट गरी २० स्थानलाई मात्र लिइएको हो । राष्ट्र बैंकका आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठले अध्ययनका लागि घरजग्गा बढी कारोबार हुने नगरपालिकाका केही स्थान छनोट गरिएको बताए ।

यस्तो अध्ययन नेपालमा पहिलोपटक गरिएको हो । कर्णालीपछि घरजग्गाको मूल्यवृद्धि प्रदेश २ मा १७.४२, लुम्बिनीमा १४.४५, प्रदेश १ मा १४.२०, गण्डकीमा ११.८३ र सुदूरपश्चिममा ६.३५ प्रतिशतले बढेको छ ।

यो तथ्यांक मालपोत कार्यालयबाट संकलित विवरणको आधारमा हो । त्यस्तै, वाणिज्य बैंकहरूले कर्जा प्रवाहमा गरेको घरजग्गाको मूल्यांकनको आधारमा भने गण्डकीमा सबैभन्दा बढी मूल्यवृद्धि भएको पाइएको छ ।

सो आधारमा गत आवको पहिलो नौ महिनामा गण्डकीमा घरजग्गाको मूल्य औषत १९।१९ प्रतिशतले बढेको छ । त्यस्तै कर्णालीमा १९.०२,वाग्मतीमा१८.२६, सुदूरपश्चिममा १६.३२, प्रदेश २ मा १६.०२ प्रतिशत, प्रदेश १ मा १५.१४ र लुम्बिनीमा ४.३२ प्रतिशतले बढेको छ । आव २०७६/७७ मा भने बैंकिङ मूल्यांकनको आधारमा प्रदेश २ मा सबैभन्दा बढी ४३.११ प्रतिशतले घरजग्गाको मूल्य बढेको छ ।

अध्ययनमा घरजग्गाको धितोमा प्रवाह भएको कर्जा कारोबार संख्या र शाखा सञ्जालको आधारमा ६ बैंक (नेपाल,एनआइसी एसिया, ग्लोबल आइएमई,एभरेस्ट, राष्ट्रिय वाणिज्य र प्रभु बैंक) लाई नमुना संकलन गरिएको थियो । घरजग्गाको मूल्यमा आउने उतारचढाव मापन गर्ने उद्देश्यले यस्तो अध्ययन गरिएको बताइएको छ । (नागरिक न्यूज)

Translate »