आइतबारदेखि मौसम सुधार हुने

३ मंसिर, काठमाडौं । अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावले नेपालको मौसमी प्रणालीमा पनि असर गरेको छ । यसको असर आगामी आइतबारदेखि कम हुँदै जाने पूर्वानुमान मौसमविदले गरेका छन् ।

अरब सागरमा विकसित निम्न चापीय क्षेत्रको प्रभावका कारण पहाडी क्षेत्रका एक-दुई स्थानमा हल्का पानी पर्ने र हिमाली क्षेत्रका धेरै ठाउँमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले सुदूरपश्चिमदेखि बागमती प्रदेशसम्मका भूभागहरूमा बदलीको अवस्था छ ।

यस्तो अवस्था शनिबार रातिसम्म रहने मौसम पूर्वानुमान महाशाखा मौसमविद निराजन सापकोटाले जानकारी दिए । ‘आइतबार बिहानदेखि बिस्तारै पश्चिमबाट खुल्दै पूर्वी भूभागतिर जान्छ । यसबाट पारदर्शितामा पनि वृद्धि हुन्छ,’ मौसमविद सापकोटाले भने ।

अरब सागरमा विकसित निम्न चापीय प्रणालीको आंशिक प्रभावले देशका अधिकांश भूभागहरूमा चिसो बढ्ने र तुवालेको कारणले पारदर्शितामा कमी आउने महाशाखाले जनाएको छ । पारदर्शितामा कमी आउँदा सडक तथा हवाई यातायात क्षेत्रमा समेत सामान्य प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल छिमेकी मुलुक भारतमा देखिएको वायुप्रदूषणको आंशिक प्रभाव पनि नेपालमा परेको मौसमविद सापकोटा बताउँछन् । ‘त्यो जलवाष्पयुक्त हावामा डष्ट पार्टिकलहरू (धुलोका कणहरू) मिसिएर नेपाल प्रवेश गरेकाले भिजिबिलिटी -पारदर्शिता)मा कमी ल्याएको छ,’ सापकोटाले भने ।

Translate »