नेपाली फेसनमा हटकेक बन्दै भर्सिटी ज्याकेट, कहाँबाट सुरू भएको थियो यसको चलन?

डेढ सय वर्षअघि हाम्रा जिजुहजुरबुवाकै पालामा लगाउँथे भर्सिटी ज्याकेट

काठमाडौंको फेसन बजारमा अहिलेको हटकेक के हो? कस्तो पहिरनमा हिजोआज युवा पुस्ताको बढ्ता क्रेज छ?

पछिल्लो समय युवायुवतीको पहिरनमा आँखा डुलाउनुभयो भने एउटा कुरा तपाईंहरू याद गर्नु हुनेछ- त्यो हो भर्सिटी ज्याकेट।

स्टाइलिस लुकको यो ज्याकेट जुनसुकै पहिरनसँग लगाउन मिल्छ। चाहे फर्मल लगाउनुस् या इनफर्मल, जिन्स लगाउनुस् या स्कर्ट, भर्सिटी ज्याकेट पर्फेक्ट म्याच गर्छ।

यो ज्याकेट खुकुलो हुन्छ, लगाउँदा सजिलो हुन्छ। युवा-युवतीहरू, खासगरी स्कुल-कलेजका विद्यार्थी प्राय: अचेल भर्सिटी ज्याकेटमै देखिन थालेका छन्।यो ज्याकेटको विशेषता के भने, यसमा अरूजस्तो चेन हुँदैन। जिन्स ज्याकेटमा जस्तै यसमा पनि अगाडिको भागमा टाँक हुन्छ। ट्रेन्डी केटाकेटीहरू भित्रबाट लुज टिसर्ट वा स्वेटर लगाएर बाहिर भर्सिटी ज्याकेट लगाउँछन्, त्यो पनि टाँक खुल्लै छाडेर। सबभन्दा माथिको वा बीचको कुनै एउटा मात्र टाँक लगाउँदा पनि कूल देखिन्छ।

इतिहासः

फेसन बजारमा हटकेक बनेको भर्सिटी ज्याकेट नयाँ-नयाँ चलनमा आएको होइन। तपाईंहरूलाई अचम्म लाग्ला, यसको इतिहास डेढ सय वर्षभन्दा पुरानो छ।

यो ज्याकेटको सुरूआत सन् १८६५ मा भएको हो। त्यो भनेको आजभन्दा १५६ वर्ष पुरानो हो।

भन्नुको मतलब, आज तपाईंहरू जुन ज्याकेट लगाएर आफूलाई कूल ठान्नुहुन्छ, त्यस्तै ज्याकेट तपाईंहरूका जिजुहजुरबुबा वा त्योभन्दा अगाडिका अमेरिकी पुस्ताले लगाइसके। उनीहरू पनि तपाईंहरूजस्तै कूल देखिन्थे होलान् है!

भर्सिटी ज्याकेटको सुरूआत अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट भएको थियो। विश्वविद्यालयका बेसबल खेलाडीले अंग्रेजी अक्षर ‘एच’ राखेर स्विटर बनाएका थिए। ‘एच’ भनेको हार्वर्डको पहिलो अक्षर हो।

विभिन्न डिजाइनका ज्याकेट बिक्री गर्दै आएको अन्तर्राष्ट्रिय कम्पनी ‘द ज्याकेट मेकर्स’ ले आफ्नो वेबसाइटमा लेखेको छ, ‘समयक्रममा स्वेटर बनाउन प्रयोग हुने कपडा र डिजाइन परिवर्तन हुँदै गयो। पहिले क्यापिटल लेटर र बोल्ड फन्टमा ‘एच’ लेखिन्थ्यो, पछि विभिन्न फन्ट र विभिन्न स्टाइलमा लेख्न थालियो।’

भर्सिटी स्विटर बनेको एक दशकपछि सन् १८७५ तिर हार्वर्ड विश्वविद्यालयको फुटबल टोलीले भर्सिटी ज्याकेट लगाउन थाले।

ज्याकेट र स्विटरमा एउटा चिज समान थियो- अंग्रेजी अक्षर ‘एच’।

स्विटरसँग मिल्दोजुल्दो होस् भनेर उनीहरूले अरू ज्याकेटमा जस्तो चेन हालेनन्। चेनको सट्टा टाँक प्रयोग गरे। यसले नै भर्सिटी ज्याकेटलाई अरूभन्दा भिन्न र अरूभन्दा खास बनायो।

त्यति बेला हार्वर्ड विश्वविद्यालयको फुटबल टोलीका जम्मै स्टार खेलाडी यही ज्याकेटमा देखिन्थे। बिस्तारै अमेरिकाका अन्य विश्वविद्यालयमा पनि यसको प्रयोग बढ्न थाल्यो। उनीहरूले हार्वर्डको सिको गर्दै आफ्नो कलेजको नामको पहिलो अक्षर ज्याकेटमा प्रिन्ट गरे।

यो ज्याकेटमा अक्षर लेख्ने तरिका पनि विशेष हुन्छ। यसमा अक्षर प्रिन्ट गरिँदैन, धागोले सिलाएर इम्ब्रोइडरी गरिन्छ।

 

स्विटरबाट सुरू भएर ज्याकेटसम्म आइपुग्दा अक्षर लेख्ने ठाउँ भने फरक परेको छ। स्विटरको बीच भागमा अक्षर इम्ब्रोइडरी गरिएको हुन्थ्यो भने ज्याकेटको दायाँ वा बायाँ भागमा लेखिएको देखिन्छ।

भर्सिटी ज्याकेटलाई ‘लेटरम्यान ज्याकेट’ पनि भन्ने चलन छ। नामकै कुरा गर्दा, विश्वविद्यालयका विद्यार्थीहरूको खेलकुद टिमको प्रतिनिधित्व होस् भनेर भर्सिटी नाउँ राखिएको हो। भर्सिटीको अर्थ नै विश्वविद्यालय वा कलेजको तर्फबाट खेल्ने विद्यार्थीहरूको टिम भन्ने बुझिन्छ। लेटरम्यानले पनि यही कुरा परिभाषित गर्छ।

यसरी विद्यार्थीहरूको फेसनबाट सुरू भर्सिटी ज्याकेट अमेरिकी बजारमा ट्रेन्डिङ हुन समय लागेन। यसले व्यावसायिक रूपमै धूम मच्चायो। हलिउड फिल्मका विद्यार्थी पात्रहरू पनि यही ज्याकेटमा देखिन थालेपछि त झन् अमेरिकी युवा पुस्ताको निम्ति हटकेक नै बन्यो।

बिस्तारै बलिउड र कलिउडका फिल्महरूमा पनि यो ज्याकेट ट्रेन्ड हुन थाल्यो। र, यही क्रममा यसले नेपाली बजारमा प्रवेश पायो।

नेपालमा भर्सिटी ज्याकेटः

नेपाली ब्रान्ड कम्पनी फाइब्रोले २०७५ सालको मध्यदेखि भर्सिटी ज्याकेट उत्पादन सुरू गरेको थियो। तर कच्चा सामग्री अभावले केही समयमै काम रोकियो।

कम्पनीका सह-संस्थापक एवं प्रमुख कार्यकारी सुरजराज पाण्डेका अनुसार यही मंसिर अन्तिमसम्म फाइब्रोले भर्सिटी ज्याकेट फेरि उत्पादन गर्न थाल्नेछ।

‘नेपालमा स्ट्रिट फेसन लोकप्रिय हुँदैछ। त्यसैले भर्सिटी ज्याकेटले पछिसम्म राम्रो बजार पाउनेमा सकारात्मक छौं,’ सुरज भन्छन्, ‘फाइब्रोले पनि छिट्टै नयाँ-नयाँ डिजाइनका भर्सिटी ज्याकेट सार्वजनिक गर्दैछ।’

यसबाहेक नेपाली बजारमा थुप्रै ठूला र मध्यम स्तरका भर्सिटी ज्याकेट उपलब्ध छन्। संकटाका एक व्यवसायी भन्छन्, ‘यो ज्याकेटले पछिल्लो समय राम्रो बजार पाएको छ। हरेक जाडो मौसममा यसको माग बढी हुन्छ तर यसपालि चाहिँ फेसनकै रूप लिएको छ।’

झन्डै सात वर्षदेखि कपडा व्यवसाय गरिरहेका उनका अनुसार प्रायः युवा पुस्तामा यो ज्याकेटप्रति क्रेज छ।

हाल बजारमा प्रचलित ‘बम्बर’ ज्याकेट पनि भर्सिटीजस्तै देखिन्छ। तर यो भर्सिटीको तुलनामा हलुका र लगाउन सहज हुन्छ। स्कुल र कलेजका विद्यार्थीमा भर्सिटी प्रचलित छ भने सामान्य हिँडडुलका लागि बम्बर ज्याकेटले राम्रो बजार लिएको छ।

थरीथरीका भर्सिटीः

‘द ज्याकेट मेकर्स’ ले भर्सिटी ज्याकेटलाई तीन वर्गमा बाँडेको छ:

– भर्सिटी हाइब्रिडः ऊन र छाला (लेदर) मिसिएको

यो भर्सिटी ज्याकेट उच्च गुणस्तरको ऊन र छालाले बनाइन्छ। ज्याकेटको अगाडि र पछाडि भाग ऊनको हुन्छ भने हातका बाहुला छालाको हुन्छ। ऊनको भाग प्रायः रातो, पहेँलो र निलो रङको हुन्छ। छालाको भाग अन्य रङका हुन्छन्। ऊन र छालाको रङ एकै प्रकारको वा छुट्टाछुट्टै पनि बनाउन सकिन्छ।

– पूरै छालाले बनेको

यो पूरै छालाले बनेको हुन्छ। छालाको गुणस्तरअनुसार मूल्य फरक पर्छ। यस्तो ज्याकेट प्रायः घाममा टल्किन्छ। उत्पादन कम्पनीले विभिन्न रङ र डिजाइनमा छालाको भर्सिटी उत्पादन गर्छ। केही कम्पनीले ग्राहकको रूचिअनुसारका रङ र स्टाइल पनि दिन्छन्।

– पूरै ऊनले बनेको

जाडो याम सुरू हुनेबित्तिकै मान्छेहरू प्रायः न्यानो ऊनीको लुगा लगाउन खोज्छन्। त्यही भएर भर्सिटी ज्याकेट उत्पादन कम्पनीले पूरै ऊनले बनेको ज्याकेट बनाउन थालेको हो। यसको मूल्य ऊनको गुणस्तरअनुसार फरक पर्छ। टि-सर्ट, सर्ट वा स्विटरमाथि यो ज्याकेट लगाउने हो भने न्यानो हुनुका साथै स्टाइलिस पनि देखिन्छ।

नेपालमा बढीजसो ऊन र छाला दुवै मिसिएको हाइब्रिड भर्सिटी ज्याकेटको ट्रेन्ड छ। बजारमा यसको मूल्य एक हजार ६ सय रूपैयाँदेखि ८ हजार रूपैयाँसम्म पर्छ।

उच्च गुणस्तरको कच्चा सामग्री प्रयोग गरेर बनाइएको भर्सिटी ज्याकेटको मूल्य बढी हुने व्यवसायी बताउँछन्। (सेतो पाटी)

Translate »