काँक्रेविहारमा नियमविपरीत प्रवेश शुल्क

सुर्खेत — पुरातात्त्विक महत्त्वको काँक्रेविहार प्रवेश गर्न शुल्क लिनेबारे वीरेन्द्रनगर नगरपालिकाले गरेको टेन्डर नियमविपरीत र क्षेत्राधिकारभन्दा बाहिर रहेको दाबी गर्दै स्थगन गर्न डिभिजन वन कार्यालयले पत्राचार गरेको छ । काँक्रेविहार पुरातात्त्विक महत्त्वको क्षेत्रका लागि प्रवेश शुल्क लिन टेन्डर आहान गरेकोप्रति डिभिजन वन कार्यालयले ध्यानाकर्षण भएको भन्दै त्यसलाई रोक्न पत्राचार गरेको हो ।नगरपालिकाभित्र रहेका काँक्रेविहार पुरातत्त्व क्षेत्रसहित घण्टाघर पार्क, सहिद पार्क र पाताल दरबार क्षेत्रमा कर उठाउने प्रयोजनका लागि नगरपालिकाले कात्तिक ११ गते बढाबढ प्रक्रियाको टेन्डर आह्वान गरेको थियो । कति दिनभित्र बोलपत्र खरिद गरिनुपर्ने उल्लेख नगरिएको उक्त टेन्डर सूचनामा विस्तृत विवरण खुलाइएको छैन । त्यसका लागि नगरपालिकाको वेबसाइटमा हेर्न भनिएको छ । तर नगरपालिकाले बुधबार १४ दिनसम्म पनि वेबसाइटमा सूचना राखेको छैन ।

नगरपालिकाले आह्वान गरेको उक्त सूचनामध्ये काँक्रेविहार पुरातात्विक क्षेत्रको कर उठाउने प्रयोजनको टेन्डरप्रति डिभिजन वन कार्यालयको ध्यानाकर्षण भएको कार्यालय प्रमुख गोविन्दप्रसाद दाहालले बताए । उनका अनुसार काँक्रेविहार संरक्षित वन क्षेत्रको व्यवस्थापनका लागि वन तथा भूसंरक्षण विभागबाट २०७६ माघ ७ गते स्वीकृत काँक्रेविहार संरक्षित वन व्यवस्थापन कार्ययोजना–२०७३ को परिच्छेद ४ को ४.१ मा काँक्रेविहार संरक्षित वन परिषद्को व्यवस्था गरिएको छ ।

उक्त परिषद्ले छुट्टै कार्यविधि तयार गरी कार्य सञ्चालन गर्नुका साथै वन ऐन–२०७६, वन नियमावली–२०५१ तथा स्वीकृत कार्यविधिबमोजिम लाभांश बाँडफाँट तथा परिचालनको व्यवस्था गरेको उनले जानकारी दिए । ‘परिषद् गठन नभएसम्मका लागि स्थगन गर्न नगरपालिकालाई पत्राचार गरिएको छ,’ उनले भने । वीरेन्द्रनगर नगरपालिका प्रमुख देवकुमार सुवेदीले नगरभित्र रहेका पुरातात्त्विक र पर्यटकीय क्षेत्रको एकद्वार प्रणालीमार्फत कर उठाउन खोजिएको बताए । ‘अघिल्ला वर्षहरूमा पनि काँक्रेविहारबाट संकलन भएको रकम नगरको आन्तरिक आम्दानीको रूपमा प्रयोग गर्दै आएको थियौं,’ उनले भने, ‘तर काँक्रेविहार संरक्षित क्षेत्र भएकाले कानुनी अन्योल छ ।’ उनले काँक्रेविहार क्षेत्रको कर संकलन वडा र नगरले गर्दै आएकोले यो वर्षदेखि टेन्डर प्रक्रियामार्फत जान खोजिएको बताए ।

काँक्रेविहार क्षेत्रमा विगत दुई आर्थिक वर्षमा प्रदेश शुल्कबाटै १७ लाख १३ हजार रुपैयाँ आम्दानी भएको छ । काँक्रेविहार क्षेत्रमा आउने पर्यटकबाट प्रवेश शुल्क र पार्किङ शुल्कबापतको उक्त रकम आम्दानी भएको हो । नगरपालिकाको राजस्व उपशाखाका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा ९ लाख ७२ हजार र २०७७/०७८ मा ७ लाख ४१ हजार रुपैयाँ आम्दानी भएको हो । (कान्तिपुर)

Translate »