१२ वर्षमाथिका दीर्घरोगीलाई आइतबारदेखि फाइजर खोप दिइँदै

कार्तिक २४, काठमाडौं । सरकारले कोभिड १९ विरुद्धको खोप नलगाएका तोकिएका दीर्घ रोग भएका १२ वर्षमाथि उमेर समूहका व्यक्तिहरुलाई फाइजर खोप आइतबारबाट दिने भएको छ ।

खोपको पहिलो मात्रा कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म दिइनेछ भने दोश्रो मात्रा मंसिर २७ गतेदेखि पुस २ गतेसम्म दिइनेछ । यो खोप २१ देखि २८ दिन भित्रमा दुई मात्रा लिनुपर्ने हुन्छ ।

खोप लगाउन जाँदा दीर्घरोगीले अस्पताल वा चिकित्सकले जारी गरेको दीर्घ रोगको उपचार सम्बन्धी पुर्जा लिएर तोकिएको अस्पताल जानुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले उपलब्ध गराएको १ लाख डोज खोप दिने भएको हो । खोप लगाउन काठमाडौँ उपत्यकामा ८ र उपत्यका बाहिर १६ वटा अस्पताललाई खोप केन्द्रको रुपमा तोकिएको छ ।

क–कसले यो खोप पाउनेछन् ?

-मुटुको शल्यक्रिया गराएका वा औषधि सेवन गरिरहेका

-मृगौला फेरेका, डायलाइसिस गराइरहेका वा औषधि सेवन गरिरहेका

-जुनसुकै प्रकारको क्यान्सरको उपचार गराइरहेका

-फोक्सोसम्बन्धी रोगको औषधि सेवन गरिरहेका

-अंग प्रत्यारोपण गरेका

-उच्च रक्तचाप वा मधुमेह भइ उपचार गराइरहेका

-रोग प्रतिरोधात्मक क्षमता कम भएका अवस्थाका

-मस्तिष्क र मस्तिष्कका रक्तनली सम्बन्धी रोग भएका

(ई–कान्तिपुर) ।

Translate »