जनता नै देशका मालिक हुन् : प्रधानमन्त्री देउवा

कात्तिक २४, काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनताभन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताउनुभएको छ ।

कांग्रेसका संस्थापक नेता गणेशमान सिंहको १०७ औं जन्मजयन्तीका अवसरमा बुधवार यहाँ आयोजित कार्यक्रममा उहाँले निष्पक्ष निर्वाचनका लागि निर्वाचन आयोग रहेको बताउनुभयो । फरक प्रसङ्गमा प्रधानमन्त्री देउवाले नेपालको संविधानले सामान्य अवस्थामा संसद् भङ्ग गर्ने व्यवस्था नगरेको उल्लेख गर्दै यो प्रावधान मुलुकमा राजनीतिक स्थायित्वका लागि राखिएको धारणा व्यक्त गर्नुभयो ।

‘अर्को कुरा संविधानको अन्तिम व्याख्या गर्ने ठाउँ भनेको सर्वोच्च अदालत हो, अरूलाई यो अधिकार छैन । सर्वोच्चको व्याख्या सबैले मान्नैपर्छ’, उहाँले भन्नुभयो ।  नेपालको संविधान विश्वमै समावेशी भएको र यसले सबै वर्ग र समुदायको समावेशिताको व्यवस्था सुनिश्चित गरेको उहाँले बताउनुभयो ।

संविधानमा कुनै समस्या आए प्रजातान्त्रिक विधिबाट समाधान गर्न सकिने उहाँको धारणा थियो । प्रधानमन्त्री देउवाले संविधानको सफल कार्यान्वयन गरेर प्रजातन्त्रलाई दिगो र समृद्ध बनाउन सके मात्र नेता गणेशमान सिंहप्रति सच्चा सम्मान हुने उल्लेख गर्नुभयो ।

विसं १९९७ सालदेखि नै राणा शासनविरुद्ध आन्दोलन थाल्नुभएको बताउँदै उहाँले प्रजातन्त्रका लागि ठूलो सङ्घर्ष गरी लामो जेल र निर्वासन जीवन बिताउनुभएका नेता सिंहले प्रजातन्त्र प्राप्तिपछि पदको कुनै लोभ नगरेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री देउवाले मुलुकमा प्रजातन्त्र मास्नलाई तत्कालीन राजाले आफूलाई थुनेको र जनता सडकमा ओर्लिएपछि गणतन्त्र आएकोसमेत स्मरण गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री देउवाले हालै सम्पन्न आफ्नो जलवायु परिवर्तनसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलनको भ्रमणका दौरान विश्वमा नै पेट्रोलियम पदार्थको विस्थापनसम्बन्धी बहसबारे अवगत गराउनुभयो । उहाँले भन्नुभयो, ‘नेपाललाई पेट्रोलियम पदार्थको विस्थापन गर्न सहज छ, मुलुकमा जलविद्युतको अपार सम्भावना छ । चुलो, गाडी, सवारीलगायतका साधन विद्युतीय बनाउन सक्छौं ।’

साथै उहाँले पछिल्लो समय नेपाल जलवायु परिवर्तनको चपेटामा परेको उल्लेख गर्दै यसबाट बचाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।  रासस

Translate »