देशभरको तापक्रम घट्दै, चिसो बढ्यो

कात्तिक २४, काठमाडौं । काठमाडौं उपत्यकासहित देशभरको तापक्रम घट्दै गएको छ ।

बुधवार काठमाडौंको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री मापन गरिएको छ । जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीका अनुसार देशभर चिसो बढ्दै जाने क्रममा रहेको छ । दिनभर घाम लागे पनि बिहानबेलुका जाडो बढेको महसुस भएको छ ।

उनका अनुसार तत्काललाई पानी पर्ने सम्भावना भने रहेको छैन । वर्षा गराउने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेको बताइएको छ । महाशाखाका अनुसार नेपाली वायुमण्डलमा पश्चिमी वायुको प्रभावसँगै जाडोयाम शुरु हुन्छ ।

हाल देशको पहाडी भू–भागमा आंशिक बदली र बाँकी भू–भागमा मौसम सफा रहेको छ । दिउँसो प्रदेश नं १ वाग्मती र गण्डकी प्रदेशका भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार बुधवार काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव शून्य डिग्री र अधिकतम तापक्रम २४ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । रासस

Translate »