हेलिकप्टरबाट सुत्केरीको उद्धार

टेकराज भण्डारी / अछाम । अछाममा सुत्केरी हुन नसकेकी एक गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार गरिएको छ ।

जिल्लाको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर १ निवासी मनसरा देवकोटाको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो ।

सुत्केरी हुन नसकेको र अत्यधिक पीडा भए पछि हेलिकप्टरबाट उद्धार गर्नु परेको पञ्चदेवल विनायक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझीले बताए ।

गर्भवती मनसराको दुई पटक शल्यक्रियाबाट प्रसूति गराइएको र तेस्रो पटक प्रसूतिमा गम्भीर समस्या उत्पन्न भएको कारण विनायकदेखि कोहलपुर शिक्षण अस्पतालसम्म प्रसूति सेवाका लागि उद्धार गरिएको अधिकृत माझीले जानकारी दिए ।

गम्भीर अवस्थाकी गर्भवती महिलाको उद्धारका लागि आवश्यक समन्वय गरी कोहलपुर पठाइएको अछाम जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले बताए ।

Translate »