रोकिएको कोरियन भाषा परीक्षा सञ्चालनको तयारी

२२ कात्तिक, काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण हुन नसकिरहेको रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तरगतको कोरियन भाषा परीक्षा फेरि सञ्चालन हुने भएको छ । त्यसको लागि तयारी शुरु भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।

विभागका महानिर्देशक दीपक काफ्लेका अनुसार कोरियाले मानव संशाधन विभाग (एचआरडी)सँग परीक्षा फेरि सञ्चालन गर्नेबारे सहमति भइसकेको बताए । तर, मिति भने तय हुन बाँकी छ । आवश्यक प्रोटोकल पनि तयार गरेर परीक्षा गर्ने योजना विभागको छ ।अबको भाषा परीक्षा कम्प्युटर प्रणालीमा आधारित हुन्छ, त्यसैले हामी कम्प्युटर पूर्वाधारसहितको उचित स्थान खोजिरहेका छौं,’ उनले भने । उनका अनुसार पुल्चोक इन्जिनियरिङ क्याम्पसमा रहेको कम्प्युटर प्रयोगशालामा विकल्पका रुपमा भेटिएको छ ।

ईपीएस कोरिया शाखाका अनुसार अहिले सीभीटी परीक्षाका लागि कार्यालयमा रहेको कम्प्युटर भाषा परीक्षाका लागि पर्याप्त हुँदैन । शाखाले परीक्षा सञ्चालान गर्ने गरी तयार गरेको भवनमा निर्माणपछि प्राविधिक समस्या देखिएको छ । भवनलाई पाइलिङ गरेर पर्खाल दिनुपनेर् भएपछि तत्काल सो भवनमा परीक्षा नहुने भएको महानिर्देशक काफ्लेले बताए ।

२०२१ लागि २०७७ जेठमा हुनुपर्ने हुने परीक्षा अहिलेसम्म भएको छैन । सो वर्ष वर्ष कोरियाले पाँच हजारभन्दा बढी कामदार लैजाने गरी कोटा (सिलिङ) पठाइसकेको थियो । तर, प्रत्येक वर्ष चैतमा नै आवेदन लिने गरिएकोमा सो वर्ष लकडाउनका कारण प्रक्रिया अघि बढ्न सकेको थिएन ।

सोही परीक्षाबाट कोरियाले परीक्षामा नक्कली परीक्षार्थीलाई प्रवेश नै दिन नसकिने गरी बायोमेट्रिक प्रणाली लागू गर्न चाहेको थियो । त्यसको तयारीमा जुट्दै गर्दा कोरोनाको सन्त्रासका कारण तयारीहरु पूरा हुन पाएन ।

केही वर्षदेखि कोरियन भाषा परीक्षा जेठको अन्तिम सातामा गरिँदै आएको थियो । तर, दुई पटकको परीक्षा रोकिएका छन् ।

कोरोना रोकथामका लागि कोरियाले लिएको नीतिका कारण परीक्षा अनिश्चित भएको थियो । नेपालबाट सन् २०२०का लागि मात्रै ९२ हजार कामदारले कोरियन भाषाका लागि परीक्षाका लागि आवेदन दिएका थिए ।

सरकारले २०७६को अन्तिम साताबाटै कोरोनाको त्रासको कारण देखाउँदै भाषा परीक्षा पास गरेर भिसा आएका कामदारलाई कोरिया पठाउन रोकेको थियो । त्यसपछि महामारीका कारण कोरिया जाने श्रमिक रोकिन पुगे । रोकिएका श्रमिकमध्ये दुई हप्ताअघि ४९ जना प्रतिवद्ध श्रमिक कोरिया गएका थिए । अब क्रमसैसँग रोकिएका श्रमिकलाई पनि पठाउने प्रक्रिया शुरु भएको महानिर्देशक काफ्लेले बताए । (अनलाइन खबर)

Translate »