तिहार सकिएसँगे छठको तयारी

काठमाडौँ । नेपालीको दोस्रो ठुलो चाड तिहार सकिएसँगै राजधानीलगायत तराईका जिल्लामा छठको रौनक सुरु भएको छ । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको वाग्मती किनारमा आकर्षक रूपमा छठ घाट निर्माण सुरु भएको छ । गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रूपमा सजाएर छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । यस क्षेत्रमा ६७५ वटा छठ घाट अर्थात् पूजास्थल निर्माण गरिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सचिव नवलकिशोर यादवले जानकारी दिए ।

तयारीका लागि यस क्षेत्रमा सफाइ, माटो सम्याउनेलगायत काम पनि भइरहेको छ । छठ पर्वको तयारी स्वरूप कात्तिक २० गते शनिवारको वाग्मती सफाइ पनि यसै क्षेत्रमा गरिएको थियो । एउटा छठ घाट पूजाका लागि रु एक हजार १०० शुल्क समितिले लिने गरेको छ । छठका लागि आवश्यक तयारीको खर्च जुटाउन शुल्क लिने गरिएको उहाँले सुनाउनुभयो । गत वर्ष कोरोनाका कारण छठ पूजा स्थगित गरिएको थियो । विसं २०७६ मा पशुपति क्षेत्र विकास कोषले पनि गुह्येश्वरी गौरीघाट छठ पूजा समितिलाई रु छ लाख सहयोग गरेको थियो । यस वर्ष पनि सहयोग गर्ने वचन प्राप्त भएको समितिले जनाएको छ ।

यसै गरी कमलपोखरी, नागपोखरीलगायत स्थानमा पनि छठ मनाउन छठ घाट अर्थात् पूजास्थल निर्माण भइरहेको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ मनाइन्छ । छठको विधि भने कोजाग्रत पूर्णिमाको भोलिपल्ट अर्थात् कार्तिक कृष्ण प्रतिपदादेखि नै सुरु हुने बताइन्छ । छठ व्रत बसेर छठ घाटभित्र प्रवेश गरेर सूर्यलाई पूजा आराधनासहित अर्घ्य दिनेले कार्तिक कृष्ण प्रतिपदादेखि नै लसुन, प्याजलगायत तामसी खाद्य परिकार नखाई शुद्ध बस्ने व्रत विधि छ ।

कार्तिक शुक्ल पञ्चमीका दिन बर्तालुले सक्खर र घिउलगायत शुद्ध खाद्य पदार्थबाट बनेको खरना खान्छन् । यसलाई पनि छठको एउटा विधिका रूपमा लिइन्छ । बर्तालुले छठको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिन्छन् । यस वर्ष कात्तिक २४ गते बुधवार यस पर्वको मुख्य दिन परेको छ ।

भोलिपल्ट अर्थात् कार्तिक शुक्ल सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व समापन हुन्छ । कृषि प्रधान देशमा यो पर्व कृषि सामग्रीसँग पनि जोडिएको समितिका सचिव यादवले बताए । नयाँ अन्न बाली उत्पादन भएर किसानको घरमा भित्रिने यो समय देवतालाई ती अन्न चढाउने अवसरका रूपमा समेत उपयोग गरिँदै आएको छ ।

दुई दशक अघिसम्म तराई क्षेत्रमा मात्र विशेष रूपमा मनाइने छठ पर्व पछिल्लो समय काठमाडौँलगायत पहाडी जिल्लामासमेत धुमधामका साथ मनाउन थालिएको छ । विगत वर्षमा काटिएको छठ पर्वको सार्वजनिक बिदालाई सरकारले यस वर्षदेखि भने फेरि निरन्तरता दिएको छ । पर्वका अवसरमा कात्तिक २४ गते बुधवार सार्वजनिक बिदा दिइएको छ । रासस

Translate »