सल्यान बस दुर्घटना: १२ जनाको मृत्यु, १० को सनाखत

सल्यान । आइतबार बिहान सल्यानमा भएको बस दुर्घटनाका १२ जना मृतकमध्ये १० जनाको सनाखत भएको छ ।

सनाखत हुनेहरूमा सल्यानको शारदा नगरपालिका १२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका ६ बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका–२ की ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका–३ की ६६ वर्षीया लीला बुढाथोकी, त्रिवेणी गाउँपालिका १ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका–४ का ६० वर्षीया डुलि रेउले छन् ।

दुर्घटनामा दाङको बबई गाउँपालिका ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायणपुरकी ६५ वर्षीया ईन्द्रा अधिकारी सल्यानको छत्रेश्वरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली, दाङ शान्तिनगर गाउँपालिका ८ की ३५ वर्षीया सावित्रा केसी र दाङ कोरवाङकी ५ वर्षीय सुरज ओली रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सल्यानको जयतपानीबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस कपुरकोट गाउँपालिका–५ खारखोलामा बिहान पौने ११ बजेतिर दुर्घटना भएको हो । बसमा ३७ जना सवार रहेको प्रहरीले मनुमान गरेको छ । घाइते मध्ये १३ जनालाई थप उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ भने बाँकीको सल्यान जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार ८ जनाको घटनास्थलमै र बाँकीको उपचारका क्रममा मृत्यु भएको हो ।

चालक भने फरार भएका छन् ।  उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

बस सडकबाट २ सय मिटर तल खसेको थियो ।

Translate »