जुवा खालबाट साढे ४ लाख बढी नगदसहित ४८ जना पक्राउ

नवीन गिरी / नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्जको एक जुवा खालबाट साढे ४ लाख बढी नगदसहित ४८ जनालाई पक्राउ गरेको छ ।

बाँके प्रहरीले एकै पटक एउटै जुवा खालबाट यति ठूलो सङ्ख्यामा पक्राउ गरेको पहिलो पटक हो । जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्जबाट गएको टोलीले आज बिहान ४ बजे नेपालगन्ज १७ बाबुगाउँमा जुवा भइरहेको जुवा खालबाट ४ लाख ६६ हजार ७७ रुपैयाँ नगदसहित ४८ जनालाई पक्राउ गरेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

उक्त जुवा खालमा जुवाडे धेरै भएपछि अन्य दुई खाल बनाएर जुवा खेलाइँदै गरिएको अवस्थामा जुवाडेहरूलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक अधिकारीले बताए । जुवा खालबाट केही भारतीय नागरिकहरू समेत पक्राउ परेका छन् ।

प्रहरी उपरीक्षक अधिकारीका अनुसार जुवा खालबाट पक्राउ परेका केही व्यक्तिहरू जुवाडे नभएको पाइएको छ । जुवाडे नभई दर्शक बनेकालाई छानबिन गरी छोडिने प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिए । जुवाडेलाई भने जुवा ऐन अनुसार कारबाही प्रक्रिया चलाइने प्रहरी उपरीक्षक अधिकारीले बताए ।

Translate »