मिठाईको पर्व तिहार : कोसेलीदेखि भान्सासम्मै हुन्छ खपत

हिमा विक /कार्तिक १८, काठमाडौं । चाडपर्वले उत्सवसँगै खुशी पनि लिएर आउँछ । रमाइलो पारिवारिक जमघट, इष्टमित्रसँग सम्बन्ध रिचार्ज गर्ने अवसर पनि सँगै लिएर आउने चाडपर्वमा खानपिन विशेष बनिहाल्ने भइहाल्यो । अझ पर्व विशेष खानपिनको संस्कारले बजारलाई थप उचाइ दिन्छ । नेपालका पर्वहरू पनि खानपान विशेष हुँदै गएका छन् । दशैंमा माछामासुलाई विशेष मानिएसँगै त्यसपछि आउने अर्काे पर्व तिहारले मिठाई, रोटी र भाइमसलाको पहिचान बनाएको हुन्छ ।

तिहारमा खासगरी सेलरोटी र मिठाईका परिकार अधिक बन्ने र उपभोग गर्ने संस्कार बसिसकेको छ । थरीथरीका परिकार र मिठाईले तिहारलाई गुलियो पर्वका रूपमा पनि चिनाउन थालेको छ । यसैमा मिठाईका परिकार बनाउने पसललाई भ्याइनभ्याई हुन्छ । दूधदेखि चिनीको खपतसमेत बढ्छ भने पनिर, बेसनबाट विभिन्न मिठाई बनाइन्छन् । यसले उपभोक्ता–बजारलाई जोडेर राख्छ ।

काष्ठमण्डप खाद्य भण्डारका सञ्चालक अनिल राजकर्णिकार ३ पुस्तादेखि लाखमरी र अन्य मिठाई विक्री गर्दै आएको बताउँछन् । लाखमरी पकाउँदै गरेका उनी भन्छन्, ‘अहिले लक्ष्मीपूजाको दिन कर्पोरेट हाउसहरूले लाखमरीजस्ता मिठाई उपहारस्वरूप दिने, डिपार्टमेन्टल स्टोरबाट पनि माग आउने हुँदा तिहारको समय झनै विक्री बढ्छ ।’

पारिवारिक व्यवसायलाई निरन्तरता दिँदै आएका उनी गुणस्तर र कच्चापदार्थ पनि सही प्रयोग गर्नुपर्ने सुझाउँछन् ।

पुस्तौं पुरानो पसल भए पनि विगत १० वर्षदेखि ब्रान्ड अघि बढाएर लाखमरीको व्यापार गर्दै आएका उनको पसलमा यसका विभिन्न परिकार, अनरसा, इन्डियन स्वीट्स र अन्य मिठाईका परिकार पाइन्छन् । पहिलाभन्दा अहिले प्रतिस्पर्धा बढेको उनको अनुभव छ । पहिला खुला रूपमा बिक्री हुने भए पनि अहिले प्याकेजिङ, स्वच्छताका विषयलाई ध्यान दिने प्रचलन बढ्दो रहेको उनी बताउँछन् ।

उपभोक्ताले विशेषगरी मिठाईमा प्रयोग भएका कच्चापदार्थ, घिउको प्रयोग, गुणस्तरीय भए/नभएको, प्याकेजिङका साथै म्याद गु्रजिएको हो÷होइन भन्ने विषयमा ध्यान दिनुपर्ने सुझाव उनको छ । अन्य दिनमा भन्दा तिहार आसपास यस्ता मिठाई परिकार बढी विक्री हुने उनले सुनाए ।

यस्तै, मिठाई पसल कर्नर पाकका सञ्चालक मास्के तिहारका बेला अन्य समयभन्दा बढी विक्री हुने बताउँछन् । ४ पुस्तादेखि गुँदपाकको व्यवसाय गर्दै आएको बताउने मास्केले भने, ‘मिठाईको बजार नै दशैं–तिहार हो । बजार त्यस्तै भएपछि यो बेला खपत माग बढी हुने गर्छ ।’

कोसेलीका रूपमा पनि गुँदपाक, पुष्टकारीजस्ता पुराना मिठाई सहरबाट गाउँगाउँसम्मै पुग्छन् । यसले काठमाडौंका पुराना तथा नयाँ मिठाई पसलको बजार तिहारमा विशेष चम्कन्छ । कन्यालाल र द्रव्यलाल मास्केको चौथो पुस्ताका मञ्जितलाल मास्केले पारिवारिक व्यवसायको रूपमा गुँदपाक, पुष्टकारी विक्री गर्दै आएको बताउँछन् । चिनी र खुवाको मिश्रणबाट बन्ने गुँदपाक अहिले प्रतिकेजी ६५० रुपैयाँ पर्छ  । चिनी र खुवाका साथै गुँदपाकमा गुँद, खरबुजा तथा किसमिसको मिश्रण पनि गरिएको हुन्छ ।

गुँदपाक बजारमा छ्याप्छ्याप्ती पाइन्छन् । तर, सबै गुणस्तरीय हुन्छन् भन्ने हुँदैन । सस्तो मूल्यमा पाउने गुँदपाक कम गुणस्तरको हुन सक्ने उनी बताउँछन् । सस्तो गुँदपाकमा मैदासमेतको मिश्रण हुने र कम गुणस्तरको खुवा मिसाउने हुँदा गुणस्तरमा बढी ध्यान दिन मास्के सुझाउँछन् । खुवा गुणस्तर हुँदा मूल्य पनि बढी हुने उनको भनाइ छ ।

नेपाली मिठाईको फरक पहिचान बनाएका गुँदपाक र लाखमरीबाहेक अन्य मिठाईको पनि व्यापार यो बेला बढी हुन्छ । आँगन, सजनगोठजस्ता मिठाई पसलमा तिहारका बेला उपभोक्ताको भीड लागेको हुन्छ । तिहार पर्वमा गुणस्तरहीन, मिसावट भएका मिठाई उपभोक्ता नजानिँदो तरिकाबाट खपत गर्न बाध्य हुन्छन् । तिहारमा सामान्य अवस्थामा भन्दा चार गुणासम्म बढी मिठाईको माग हुने गर्छ । चकलेट बर्फी, पेडा, बेसन, सुजी, मुङ, नरिवल लड्डुका साथै केसरी पेडा, रसवरी, गुलाबजामुन, घेवर, राजभोगजस्ता मिठाईका परिकार बजारमा पाइन्छन् ।

सरकारी निकाय वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले चाडपर्वकै मुखमा अनुगमन गर्छ । कतिपय मिठाई पसलले अखाद्य पदार्थ मिसावट गरेका कारण कारबाहीमा परेका समाचार सुनिँदै आएको छन् । यस्तो बेला उपभोक्ता आफैं पनि सचेत हुन उपयुक्त हुन्छ । तिहारको पर्याय बनेको मिठाई अस्वस्थ, गुणस्तरहीन भए उपभोक्ताको स्वास्थ्यमै समस्या आउन सक्छ । त्यसकारण आफूले किन्दै गरेका मिठाई परिकारमा केकस्ता सामग्रीको मिसावट भएको छ र  देख्दा आकर्षक लाग्दैमा गुणस्तरीय हुँदैन भन्नेमा उपभोक्ताले ध्यान दिनुपर्छ । मिठाई खरीद गर्दा प्याकेजिङ, उत्पादन मिति र उपभोग्य अवधि हेर्न भुल्नु हुँदैन । (आर्थिक अभियान)

Translate »