सामाजिक–सांस्कृतिक महत्त्वको विशिष्ट पर्व

झिलीमिली बत्ती, बारीमा ढकमक्क फूलेका फूल, सप्तरंगी टीका, सफा र चिटिक्क घरआँगन, लिंगे पिङको चचहुई, कामविशेषले बाहिर रहेकाहरू घर फर्किएपछिको भेटघाट, एउटा बिछट्टको उत्सवमय माहोल… । यो परिदृश्यबाट सबैले सम्झने पर्व हो तिहार । वर्षमा हरेक दिनजसो कुनै न कुनै पर्व पर्ने नेपाली समुदायमा तिहार आफ्नै विशिष्टता र गरिमा बोकेको चाड हो ।

हिन्दू धर्मावलम्बीले धूमधामसँग मनाउने गरे तापनि सामाजिक सांस्कृतिक रूपमा तिहारले सबै जाति, समुदाय र धर्मावलम्बीलाई जोडेको छ । आफन्त तथा साथीभाइहरूसँग गरिने भेटघाट र शुभकामना आदन–प्रदानबाट आत्मीयता, माया, प्रेम, सद्भाव, भाइचारा, मेलमिलाप र निकटता कायम राख्ने यो पर्वले सबैलाई अपनत्व महसूस गराएको पाइन्छ ।

दीप (बत्ती)हरूको पर्व भएकाले तिहारलाई दीपावली पनि भनिन्छ । भारतमा यस पर्वलाई दिवालीको रूपमा भव्यसँग मनाइन्छ । यसबाहेक भुटान, म्यान्मा, थाइल्याण्डका साथै नेपाली समुदायको बसोवास रहेको सबैजसो मुलुकमा उत्तिकै महत्त्वको साथ मनाइन्छ । देशअनुसार यसलाई मनाउने तरिकामा भिन्नता पाइन्छ ।

नेपालमै पनि समुदाय विशेषले यो पर्वलाई आफ्नै रीतिरिवाज र चलनअनुसार मनाउँछन् । धार्मिक, सामाजिक, सांस्कृतिक, आर्थिक, व्यावसायिक लगायत कुनै न कुनै दृष्टिकोणबाट सबै जाति, भौगोलिक परिवेश र समुदायलाई जोड्ने भएकाले तिहारलाई नेपालको राष्ट्रिय पर्व मान्न सकिन्छ ।

तिहार रङ र फूलहरूको पर्व पनि हो । सयपत्री, मखमली, गोदावरी लगायत फूल तथा रङहरूले मानिसको मनमा खुसीयाली र उमंगको सञ्चार गराउँछ । पिङ खेल्ने, दीपावली गर्ने, देउसीभैलो खेल्ने, सेलरोटी, अनरसा आदि पक्वान्नसहित विभिन्न फलफूल तथा मिष्ठान्न खाने, दिदीबहिनीका हातबाट सप्तरंगी टीका लगाउने लगायत गतिविधि तिहारका पारम्परिक विशेषता हुन् ।

धन्वन्तरि जयन्ती, धनतेरसको रौनक
तिहारको पहिलो दिन (कागतिहार) वैदिक चिकित्सा पद्धति आयुर्वेदका प्रवर्तक धन्वन्तरिको उत्पत्ति भएको सम्झनामा धन्वन्तरि जयन्ती मनाइन्छ । वैदिक हिन्दू दर्शनका चार उपवेदमध्येको आयुर्वेदको पुस्तक र प्रकृतिले दिएको औषधिको प्रतीकका रूपमा जडीबुटी लिएका धन्वन्तरिलाई आयुर्वेद चिकित्सा क्षेत्रका संस्थापक मानिन्छ ।

यसैगरी धनतेरस विशेषगरी मधेशी एवं मारवाडी समुदायमा बढी प्रचलित छ । यस दिन नेपालको विशेषगरी तराई र भारतमा नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । त्यस क्षेत्रमा समाजका उच्च, मध्यम वा निम्न सबै वर्गका मानिस आफ्ना आवश्यकता र विलासिताका कतिपय महत्त्वपूर्ण चिजबिजको किनमेलका लागि वर्षभरि यही दिनको प्रतीक्षा गर्छन् । पछिल्ला वर्षहरूमा यो चलन नेपाल शहरी तथा बजार क्षेत्रमा समेत बढ्दै गएको पाइन्छ ।

जनावरदेखि म्हः पूजा र भाइटीकाको महत्व
तिहारका पाँच दिनमा क्रमशः काग, कुकुर, गाई तथा लक्ष्मी, गोवद्र्धन (नेवारी समुदायमा म्हः पूजा) र भाइपूजा गरिन्छ, जसको आफ्नै महत्त्व र महिमा छ । जनावरदेखि मानवसम्मको पूजा हुनु तिहारको अद्वितीय पक्ष हो । यस पर्वले एकातिर मानव तथा पशुबीचको प्रगाढ सम्बन्धको चित्र प्रस्तुत गर्छ भने अर्कातिर दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीय र पवित्र स्नेह एवं सम्बन्धलाई पनि ज्वलन्त बनाउँछ । तिहारमा काग, कुकुर, गाई, गोरुको पूजा गर्नुले यिनीहरूको काम र गुणको कदर तथा सम्मान व्यक्त गर्दछ ।

तिहार धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गर्ने पर्व समेत हो । लक्ष्मीलाई धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीकको रूपमा पूज्ने गरिन्छ । तिहारको तेस्रो दिन लक्ष्मीपूजा गरेपछि भैलो र तिहारको चौथो दिन गोवर्द्धन पूजापछि द्यौसी खेल्न शुरू गरिन्छ । यसै दिन नेवारी समुदायमा म्हः पूजा गरिन्छ । म्हः पूजा यो समुदायको मौलिक पर्व हो ।

म्हःको शाब्दिक अर्थ देह अर्थात् शरीर हो । यसर्थ म्हः पूजा आफ्नै देहको पूजा हो । आफूले आफूलाई चिन्ने, म नै सर्वश्रेष्ठ हो भनेर स्वीकार्ने पर्व हो म्हः पूजा । त्यसैले आफ्नो सम्मान गर भन्ने हेतुले म्हः पूजा गरिन्छ । म्हः पूजा आफ्नो क्षमता, परिश्रम र मेहनतको पूजा पनि हो । शरीरमा शान्ति नभई सर्वत्र शान्ति नहुने विश्वास अनुरूप म्हः पूजाको दिन अष्ट चिरञ्जीवीको प्रतीक र अष्ट ऐश्वर्य झल्कने आकर्षक मण्डप बनाएर त्यसमा आत्मस्वरूप पूजा गरिन्छ । सोही मण्डपमाथि विभिन्न खाद्यवस्तु राखेर आफैले आफैलाई खुवाइने प्रचलन छ ।

म्हः पूजाकै दिनदेखि नेपाल संवत्को नयाँ वर्ष पनि शुरू हुन्छ । राष्ट्रिय विभूति शंखधर साख्वाले विसं ९३७ मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुआत गराएका थिए ।

तिहारको अन्तिम दिन भाइटीकाको पनि विशेष महत्त्व रहिआएको छ । यस दिनले दिदीबहिनी र दाजुभाइबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिविम्बित गर्छ । भाइटीकाको दिन दिदीबहिनीले दाजुभाइको पूजा गर्ने विधि, आवश्यक पर्ने सरसामग्री र प्रयोग गरिने रङले यसलाई विशेष बनाएको हो । तेल र पानीले छेक्नुपर्ने, बिमिरो लगायत अमिला जातको फलफूल आवश्यक पर्ने, ओखर फुटाइने, एकैपटक सातथरी रङ लगाउने, मखमली माला लगाइने, मसाला, रोटी लगायत मीठा खानेकुरा खाइने आदिजस्ता चलनले पनि भाइटीकालाई जीवन्त बनाएको छ ।

भाइटीका अर्थात् कात्तिक शुल्क द्वितीयकाको दिन चित्रगुप्त दिवस समेत मनाइन्छ । ब्रह्माको अंशबाट उत्पन्न भएको मानिने चित्रगुप्त यमराजका सहयोगीको रूपमा रहेको पौराणिक कथन पाइन्छ । (आर्थिक अभियान)

Translate »