खाद्य कम्पनीको चामल ‘खानयोग्य’ रहेको पुष्टि

सुर्खेत । वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बास्मती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको हो ।

काठमाडौंको थापाथलीस्थित कम्पनीको गोदामबाट कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरी सुर्खेत पठाइएको भन्ने सूचना आएपछि संयुक्त अनुगमन टोलीले असोज ६ गते नमूना संकलन गर्नुका साथै विक्रीवितरणमा प्रतिबन्ध लगाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा जिल्ला प्रशासन, उपभोक्ता अधिकार मञ्चलगायत सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले प्रादेशिक गोदाममा रहेको १ हजार ९७५ क्विन्टल बास्मती चामल विक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

सरकारी स्वामित्वको खाद्य कम्पनी लिमिटेडले आफ्ना डिपोमार्फत दुर्गम जिल्लाका लागि सहुलियत मूल्यमा चामल, दाल विक्रीवितरण गर्ने गर्दछ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा सहायक विनोद पौडेलले आइतवारदेखि उक्त चामलको विक्रीवितरण शुरू भएको जानकारी दिए । उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले शुक्रवार विक्रीप्रतिबन्ध फुकुवा गरेको थियो ।

Translate »